पार्टीको गणित र राष्ट्रिय राजनीति हेरेर मात्र सरकारमा जाने नजाने निर्णय गर्न सकिनेः राजेन्द्र लिङ्देन

  Sampatti News 2024

August 1, 2024

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको गणित र राष्ट्रिय राजनीति हेरेर मात्र सरकारमा जाने नजाने निर्णय गर्न सकिने बताएका छन् ।

आज काठमाडौंमा जिल्ला अध्यक्षहरुको भेलामा बोल्दै उनले सरकारमा सहभागि हुने कुरमा पार्टीले विश्लेषण गरेर मात्र निर्णय गरेपछि टुङ्गोमा पुग्ने बताएका छन् । उनले सरकारमा जाने विषय व्यक्तिको निर्णयले नहुने समेत बताएका छन् ।

उनले भने, ‘हामी सरकारमा जाने नजाने भन्ने कुरा परिस्थितिले निर्धारण गर्छ । हाम्रो चाहनाले मात्र हुँदैन । गणितको अवस्था र राष्ट्रिय राजनीतिको अवस्थालाई हेरेर सरकारमा रहँदा के महत्त्व हुन्छ, नरहँदा के हुन्छ भन्ने विषय पार्टीले विश्लेषण गरेर निर्णय गर्नुपर्छ । व्यक्तिगत चाहनाले मात्र अथवा अरु कसैको चाहनाले निर्णय हुने विषय होइन । त्यसकारण यसमा कोही पनि भ्रममा पर्न हुँदैन ।’

यस्तै, उनले कोशी प्रदेशमा राप्रपाका सहभागिता सन्दर्भमा उनले संविधानको आधारभूत मान्यतामा एकमत नभएपनि सहकार्य गरेर जाने भनेको हुनाले केन्द्र, प्रदेश र स्थानीय तहमा त्यही हिसाबले भाग लिएको बताए ।

उनले भने, ‘प्रदेश सभामा सहभागी भएपछि अथवा खासगरी सभामुखका रुपमा सहभागी भएपछि जिल्ला अध्यक्षहरु समक्ष स्पष्ट भन्छु खासगरी कोशी प्रदेशमा सभामुखमा हाम्रो सहभागिता भयो, तत्काललाई सहभागी हुनुहुन्न भन्ने पक्षमा नै थिएँ । त्यही कुरा निर्देशन पनि दिएको थिए तर विदेशमा भएको बेला साथीहरु सहभागी हुनुभयो । संविधानको आधारभूत मान्यतामा पनि एकमत छैन् । तर सहकार्य गरेर जाने भनेको हुनाले केन्द्र, प्रदेश र स्थानीय तहमा त्यही हिसाबले भाग लिएका छौँ । सरकारमा पनि त्यही आवश्यकता अनुसार सहभागी हुन्छौ र ठिक लागेन भने बाहिर हुन्छौ ।’

प्रकाशित मिति:August 1, 2024