राप्रपाका महामन्त्री राणा भन्छन्- ‘राजासहितको हिन्दु राष्ट्र जनताको बल र समर्थनमा यो लक्ष्य हामी प्राप्त गर्छौं, गर्छौं’

  Sampatti News 2024

August 3, 2024

काठमाडौं । मन वचन र कर्म एकत्रित गरेर हिन्दु अधिराज्य पूनःस्थापना गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्पष्ट गरेको छ । यही लक्ष्य प्राप्त गर्न राप्रपाले काठमाडौं उपत्यकाकेन्द्रीत संगठन विस्तार कार्ययोजना जारी राखेको छ ।

‘राजा सहितको हिन्दु राष्ट्र राप्रपाको मूल एजेण्डा हो, जनताको बल र समर्थनमा यो लक्ष्य हामी प्राप्त गर्छौं, गर्छौं । मूल लक्ष्य प्राप्त नगरेसम्म हामी विश्राम गर्ने छैनौं,’ राप्रपा महामन्त्री तथा संगठन विभाग प्रमुख धवलशम्सेर राणाले किर्तिपुर नगर तहको संगठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार भने ।

विगत आन्दोलनको अनुभवका आधारमा यस पटक राप्रपा पूर्ण तयारीका साथ सडकमा उत्रने महामन्त्री राणाले बताए । सशक्त र प्रभावकारी आन्दोलनका लागि सानोभन्दा सानो विषय सम्बोधन गर्दै राप्रपा तयारीमा जुटेको, युवा दस्तालाई केन्द्रमा राखेको उनले स्पष्ट गरे ।

महामन्त्री कुन्ती शाहीले देशमा विद्यमान विकृति र विसंगति सरकार परिवर्तन गरेर सम्बोधन नहुने भन्दै अहिलेको संकट निराकरण गर्न सनातन पहिचानलाई आत्मसात गर्नुपर्ने बताइन् । नेपाल निर्माणदेखिको यथार्थ अवस्था, धर्म सँस्कृति परम्परा र भूराजनीति समेत सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रवक्ता तथा संगठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले नयाँ नेपाल बनाउँछु भन्ने समाजवादी, साम्यवादी र कथित लोकतन्त्रवादीहरुले देशलाई धुजाधुजा पारेको, प्रजातान्त्रिक नियन्त्रण सन्तुलन ध्वस्त बनाएको र लाज पचाएर जनतालाई ढाँटेको भन्दै दुख व्यक्त गरे ।

‘आधुनिक नेपालको इतिहासमा यस्तो दुरदिन कहिले देख्न परेको थिएन । यस अर्थमा पनि विश्वभरी सफल सावित राजा सहितको प्रजातन्त्रको मोडल नेपालका लागि अपरिहार्य भएको छ,’ लावतीले भने ।

किर्तिपुर नगर अध्यक्ष बिजेस बस्नेतको अध्यक्षता सम्पन्न कार्यक्रममा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाले आफ्नो सगठन आफैं बनाउनुपर्छ भन्ने जिम्मेवारी मनन् गरेर स्थानीय संगठन मजबुत बनाउनु पर्दछ भने । आन्दोलनका लागि वडा तहसम्म गएर युवा दस्ता निर्माण गर्न उनले कार्यकर्तालाई आह्वान गरे ।

प्रकाशित मिति:August 3, 2024