‘राजसंस्थालाई शोषक भन्नेहरू सर्वसत्तावादी भए’

  Sampatti News 2024

August 3, 2024

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिजो राजाकाम कारण देश विकास भएन भन्नेहरु नै आज ब्रह्मलुटमा मस्त भएको आरोप लगाएका छन्। राजसंस्थालाई शोषक सामन्ती संस्था भनेर आरोप लगाउनेहरू आज सर्वसत्तावादी भएर प्रकट भएको समेत थापाको आरोप छ।

पार्टीको ललितपुर जिल्ला समितिद्वारा शनिबार कुमारीपाटीमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले रोग, भोक,अशिक्षा, गरिबी र पछौटेपनको कारण राजसंस्था, एकात्मक शासन प्रणाली र हिन्दु धर्म भन्नेहरुले अब जवाफ दिनुपर्ने समय आएको बताए।

विदेशीहरूले राजनीतिक दलहरुलाई खेलारहेको, दबाब र प्रभाब बढाउँदै लगेको चर्चा गर्दै थापाले राष्ट्रियता संकटमा पर्दा देशको अस्तित्व रक्षाका लागि राजासहितको प्रजातन्त्रको एजेन्डा उठाएको स्पष्ट पारे। राप्रपा नेपाल परिवर्तनको विरोधी शक्ति नभएको र निरन्तरतासहितको परिवर्तन जरुरी भएको थापाले बताए।

उनले भने, ‘कुनै पनि देशले आफ्नो धर्म, संस्कृति, मूल्यमान्यताको रक्षा बिना प्रगति गर्न सक्दैन। विदेशी शक्तिले बोकाइदिएको भारी बोकेर देशको स्वाधीनताको रक्षा हुन सक्दैन।’ कार्यक्रममा विष्णु भण्डारी ,राजाराम बर्तौला ‘चुनेली’, सुदर्शन केसीले पनि बोलेका थिए।

प्रकाशित मिति:August 3, 2024