सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमलबहादुर शाहको दाबी पेश

  Sampatti News 2024

August 4, 2024

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज साँझ ५ बजेसम्मका लागि नयाँ सरकार गठनको समय छ । केन्द्रमा कांग्रेस–एमालेको नयाँ समिकरण बनेपछि सुदुरपश्चिममा पनि नयाँ सरकार बन्ने भएको हो । यहाँ नेपाली कांग्रेसले मुख्यमन्त्री पाउने सहमति भएको थियो ।

नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमलबहादुर शाहलाई बनाउने औपचारिक निर्णयसमेत गरिसकेको छ । त्यस्तै प्रदेश प्रमुख नजिर मियाँले दिएको समयअवधि आज ५ बजे सकिदै छ ।

सोही अनुसार आज कांग्रेसका दलका नेता शाहले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गरिसकेका छन् । एमालेको समर्थनमा शाहले दाबी पेश गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सदस्य छन्। मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ ।

प्रकाशित मिति:August 4, 2024