स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलित, शाखा अधिकृत रिजालले मानसिक तनाव दिएको आरोप

  Sampatti News 2024

August 4, 2024

काठमाडौं । शुक्रबार देखि स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन् । शाखा अधिकृत शोभित रिजालले कर्मचारीलाई मानसिक तनाव दिएको भन्दै उनीहरुले नभइन्जेलसम्म ‘पेन डाउन’ गरेका छन् ।

रिजाल अहिले स्वास्थ्य बीमा बोर्डमा काजमा कार्यरत छन् । रिजालले कार्यालयमा कार्यरत कर्मचारीहरुलाई बारम्बार हप्काउने, धम्काउने, कार्यकक्ष भित्र गई अपशब्द बोल्ने, अमर्यादित व्यवहार गर्ने सार्वजनिक स्थलमासमेत करारमा कार्यरत कर्मचारीहरुलाई जागिर खाइदिन्छु भन्दै कर्मचारीहरुलाई मानसिक तनाव दिएको भन्दै उनीहरु आन्दोलन गरेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काजफिर्ता नगरेका कारणले कर्मचारीहरु आन्दोलनमा उत्रिनु परेको जनाएका छन् । रिजाललाई हटाउन गरेको माग पूरा नभएपछि बोर्डका कर्मचारीले ‘पेन डाउन’ गरेर आन्दोलन गर्न बाध्य भएको जनाएका छन् ।

उनीहरुले अधिकृत रिजाललाई जिम्मेवारीबाट हटाई काज फिर्ता नगरेसम्म पेन डाउन गर्ने चेतावनी दिएका छन् ।

यसअघि रिजाललाई हटाउन कर्मचारीहरुले गत ३ साउनमा १५ दिनको अल्टिमेटम समेत दिएका थिए । उनीहरुले १५ दिनभित्र रिजाललाई हटाउन माग गर्दै साउन ३ गते कार्यकारी निर्देशकलाई पत्र बुझाएका थिए।

अधिकृत रिजालले भने आफूले स्वास्थ्य बीमा बोर्डमा रहेको वेथितिबिरुद्ध आवाज उठाउँदा आफुविरुद्ध आरोप लागेको बताएका छन् । उनले भने–‘यहाँको आइटीले सिस्टममा गर्नुपर्ने काम गरेन, ड्यासबोर्ड चल्दैन । दुई जना कर्मचारीको हातमा डाटा सिस्टम राखिएको छ, तर त्यो सुरक्षित छैन । पारदर्शी छैन । मन लागे एड् गर्ने मन नलागे डिलिट गर्ने सम्मको कार्य भएको छ । यसरी हुँदैन भनेर मैले आवाज उठाएको हुँ ।’

उनले आफु कसैको तारो नहुने र सहकर्मीबाटै विभिन्न आरोप लागेपछि आफुले सरुवाका लागि निवेदन दिएको बताएका छन् ।

प्रकाशित मिति:August 4, 2024