बंगलादेशमा विद्यार्थी आन्दोलनः प्रधानमन्त्री सेख हसिनाले दिइन पदबाट राजीनामा, बहिनी लिएर भागिन् भारत

आन्दोलकारीले प्रधानमन्त्रीको सरकारी निवास नियन्त्रणमा लिए

  Sampatti News 2024

August 5, 2024

काठमाडौं । सरकारी सेवामा आरक्षणको विरोधमा बंगलादेशमा गत जुलाई महिनादेखि विद्यार्थी आन्दोलन गरिरहेका छन्। आन्दोलनका क्रममा भारी हिंसाका साथै आगलागीका घटनाहरू भएका छन्। बंगलादेशमा जारी आन्दोलनमा हालसम्म तीन सय जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

सरकारी सेवामा आरक्षण लागू गर्ने सरकारको निर्णयविरूद्ध बंगलादेशका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्। सरकारले आरक्षणमा केही कटौती गरे पनि आन्दोलनरत विद्यार्थीहरू पछिल्लो समय प्रधानमन्त्री सेख हसिनाको राजीनामा माग गरिरहेका थिए।

विद्यार्थीको माग बमोजिम प्रधानमन्त्री सेख हसिनाले बाध्य भएर राजीनामा दिएकी छिन् । उनले सोमबार राजीनामा दिएर भारततर्फ लागेकी छन्। बंगलादेशी दैनिक पत्रिका प्रथम अलोका अनुसार सेख हसिनालाई लिएर प्रधानमन्त्रीको सरकारी निवास गणभवनबाट सैनिक हेलिकप्टर उडेको छ। साथमा उनकी बहिनी सेख रेहाना छिन्।

उनीहरू हेलिकप्टरबाट भारतको पश्चिम बंगालतर्फ प्रस्थान गरेको पत्रिकामा उल्लेख छ। समाचार एजेन्सी एएफपीले सेख हसिना र उनकी बहिनी सेख रेहाना गणभवनबाट सुरक्षित स्थानमा गएको जनाएको छ। ढाकामा आन्दोलन सोमबार थप चर्किएको छ। आन्दोलनकारीहरूले प्रधानमन्त्रीको सरकारी निवास नियन्त्रणमा लिएका छन्।

आन्दोलन थप हिंसात्मक बनिरहेको बेला बंगलादेशका सेना प्रमुख वाकर–उज–जमानले अहिले देशबासीका नाममा सम्बोधन गर्ने सैनिक श्रोतले एएफपीलाई जानकारी दिएको छ । सेनाका प्रवक्ता रशेदुल आलमले भने, ‘जनरल वाकरले देशबासीका नाममा सम्बोधन गर्नुहुनेछ ।’

प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीले पुनः प्रदर्शन शुरू गरेपछि आइतबार भएको झडपमा कम्तीमा ९४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्यांकमा कम्तीमा ३०० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रकाशित मिति:August 5, 2024