सुकुम्बासी बस्तीमा दैनिक १ हजार मानिसलाई खाना खुवाइने

  Sampatti News

September 9, 2020

काठमाडौ । सिन्धुपाल्चोक बनसाँघु समाज र लामोसाँघु भ्याली समाज स्वामितोले काठमाडौ महानगरपालिका वडा नं. १० भित्र रहेका सुकुम्बासी टोलहरुमा निशुल्क खाना खुवाउन सुरु गरेको छ ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न नदिनका लागि गत चैत्र ११ गतेदेखि लागू भएको लकडाउन र विगत ३ साता यता निषेधाज्ञा जारी भएपछि कयौं मानिसहरुले विहान बेलुकी हात मुख जोड्न नसक्ने स्थितिमा पुगेकै कारण निम्न वर्गका मानिसहरुलाई खाना खुवाउने कार्यक्रमको आयोजना गरिएको सिन्धुपाल्चाक बनसाँघु, समाजका अध्यक्ष रमेश श्रेष्ठले बताए ।


काठमाडौ महानगरपालिका वडा नं. १० को सहकार्यमा शंखमुल, शान्ति विनायक, देवीनगरका सुकुम्बासी टोलहरुमा दैनिक १ हजार प्याकेट खाना वितरण गर्ने कार्यक्रम रहेको जसमध्ये भर्खरै शंखमूलमा ३ सय प्याकेट खाना वितरण गरिसकेको र बाँकी शान्तिविनायक र देवीनगरमा लगेर वितरण गर्ने अन्तिम तयारीमा रहेको लामोसाँघु भ्याली समाज स्वामितोका अध्यक्ष बलदेव श्रेष्ठले जानकारी गराए ।


लकडाउन र निषेधाज्ञाका कारण कामविहिन बन्नुपर्दा दैनिक हात मुख जोर्न धौ धौ परिरहेको बेला आफूँहरुलाई मिष्ठान भोजन उपलब्ध गराएकोमा शंखमूलका सुकुम्बासी टोलका मानिसहरु खुसी हुँदै आयोजक संस्थालाई धन्यवाद व्यक्त गरेका थिए ।
दैनिक समाज डटकमको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा विभिन्न समाजसेवीहरु सहभागि रहेका थिए । लामो समयसम्मको लकडाउन र निषेधाज्ञाले गर्दा दैनिक ज्यालादारी गरी खाने र न्यून आय भएका मानिसहरु चरम समस्यामा परिरहेकोले निषेधाज्ञाभरी आफूँहरुले खाना वितरण गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति:September 9, 2020