एकै दिन एक सय बढी प्रहरीको अवकाश हुँदै

  Sampatti News 2024

August 12, 2024

काठमाडौं । आगामी भदौ १५ गतेका दिन करिव एक सय प्रहरीहरुको अवकास हुँदै छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरु सो संख्यामा एकै दिन अवकास हुने भएका हुन् ।

त्यस दिन नेपाल प्रहरीका एक जना नायव महानिरीक्षक (डीआईजी) र सशस्त्र प्रहरीका दुई जना डीआईजी गरी १०८ जना एकसाथ अवकाशमा जाने भएका छन् ।

९० जना नेपाल प्रहरी बाट र १८ जना सशस्त्र प्रहरीका अधिकारीहरुको विदाई हुन लागेको हो ।

नेपाल प्रहरीका बागमती प्रदेशका डीआईजी विष्णुकुमार केसी र सशस्त्र प्रहरीका डीआईजीद्वय अभि खत्री र दुर्गा भट्टराई अवकाशमा जाँदै छन् । डीआईजीत्रय केसी, खत्री र भट्टराईसहित यी १०८ जना २०५१ भदौ १६ मा प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैमा उमेरहद, सेवा अवधि र पदावधि जुन पहिले आउँछ, त्यहीअनुसार अवकाश हुने व्यवस्था छ । अहिले सबै जना ३० बर्से सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । उनीहरुलाई १०५ टोली भनेर पनि चिनिन्छ । असईमा भर्ना भएका उनीहरूले पछि प्रहरी निरीक्षकमा नाम निकालेर डीआईजीसम्म बन्न सफल भएका थिए ।
नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी)पनि अवकाशमा जाने छन् । यस्तै केही डीएसपी पनि अवकाशमा जाने भएका छन् ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विश्व भट्टराई, एसपीहरु पूर्ण साउद, त्रिभुवन विष्ट, धनबहादुर सिंह, अशोक शाक्य, दीपेन्द्र गिरीलगायतले त्यस दिन अवकाश पाउने भएका छन् । भट्टराई भने सशस्त्र प्रहरीमा स्थानान्तरण भएपछि सिसं २ को सशस्त्र प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए ।

प्रकाशित मिति:August 12, 2024