सुदूरपश्चिम प्रदेशमा ‘प्रदेश निजामती ऐन ०७९’ बहुमतले पारित

  Sampatti News 2024

August 20, 2024

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाबाट ‘प्रदेश निजामती ऐन ०७९’ बहुमतले पारित भएको छ । मंगलवार सुदूरपश्चिम प्रदेश सभाबाट बहुमतले ‘सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ लाई संशोधन गर्न बनेको विधेयक पारित गरिएको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीले आजको प्रदेश सभा बैठकमा उक्त विधेयक प्रस्तुत गरेका थिए । विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त विधेयक समावेशिताको सिद्धान्त विपरीत आएको भन्दै विरोध गरे ।

माओवादी केन्द्रका सांसद शिवसिंह ओली र नागरिक उन्मुक्तिका संसदीय दल नेता घनश्याम चौधरीले विधेयक राना थारु समुदायको मर्म र भावना विपरीत आएको भन्दै आपत्ति जनाए ।

यस्तै चौधरीले राना थारु समुदायको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व कम गराउने गरी विधेयक संशोधन गरिएको बताए ।

नेकपा एमाले र काँग्रेसका सांसदहरूले उक्त विधेयकको समर्थन गरे । एमालेका सांसद चक्र मल्लले निजामती सेवा ऐन पारित नहुँदा प्रदेशको कार्य सम्पादनमा बाधा, अड्चन आएको बताए ।

प्रकाशित मिति:August 20, 2024