पाँचथरको इलाका प्रशासन कार्यालय रविमा छैनन् प्रमुख, सेवाग्राही मर्कामा

  Sampatti News 2024

August 20, 2024

पाँचथर । पाँचथर जिल्लाको दक्षिण क्षेत्रमा रहेको मिक्लाजुङ गाउँपालिकाको केन्द्र रविमा इलाका प्रशासन कार्यालय छ । यहाँबाट नागरिकता तथा राष्ट्रिय परिचय पत्र बनाउन सकिन्छ । तर, यहाँ अधिकृत स्तरका कर्मचारी नहुँदा यस क्षेत्रका वासिन्दा उक्त सेवा पाउनबाट बन्चित भएका छन् ।यो क्षेत्र ग्रामिण मानिएकोले यहाँ प्राय कर्मचारी आउन नमान्ने गरेको

पाइन्छ । जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बालाई कामु दिएर खटाइएको थियो तर अहिले कामु पनि नहुँदा यहाँका सेवाग्राही थप मर्कामा परेका हुन् ।

यहाँबाट मिक्लाजुङ गाँउपालिका र तुम्बेवा गाँउपालिकाका सेवाग्राहीले सेवा पाउछन् । प्रमुख जिल्ला अधिकारी यस क्षेत्रमा काम विशेषले जादा केही घण्टा बसेर नागरिकता र राष्ट्रिय परिचय पत्र बनाउने काम गर्छन् ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले भन्छन् –‘इलाका प्रशासन कार्यालयमा कर्मचारी राख्न माग गरिरहेका छौं । माथिबाट कर्मचारी नआएका कारण समस्या छ । पाँच बर्ष सेवा गरेको नासुलाई कामु दिएर चलाइएपनि अहिले मन्त्रालयले कामु दिएर कसैलाई खटाएको छैन् ।’

एक महिना भन्दा अगाडीदेखि कार्यालयमा नागरिता जारी गर्ने अधिकारी छैनन् । अधिकृतको दरबन्दी भएपनि यहाँ पठाइएको छैन् । जिल्ला प्रशासन कार्यालय पाँचथरमा नायब सुब्बालाइ कामु दिएर केहि समय चलाएपछि अहिले कामु फिर्ता गरिएको छ ।

सदरमुकाम नै आउनु पर्ने बाध्यता

इलाका प्रशासन कार्यालयमा कर्मचारी पठाउन नसक्दा यस क्षेत्रका सेवाग्राही सदरमुकाम फिदिम बजार नै आउन बाध्य छन् । बर्खाको समय समेत भएकाले सेवाग्राहीलाई फिदिम आउनसमेत झन कठिन हुने गरेको छ ।

यहाँका सेवाग्राहीले संघियताका अनुभव नै गर्न नपाएको गुनासो समेत गर्ने गरेका छन् । मिक्लाजुङ गाँउपालिका उपाध्यक्ष सन्तकुमार शेर्माका अनुसार विगत लामो समयदेखि कार्यालय प्रमुख विहिन छ । कार्यालयमा नायब सुब्बालाई कामु बनाएर पठाउने गरिन्छ तर नियमितता छैन । बाटोहो हालत छ । भनेको बेला गाडि चल्दैन । नियमित अधिकृत बस्ने व्यवस्था मिलाइदिन पटक पटक अनुरोध गरेपनि सम्बन्धित निकायले खासै चासो नदिएको उनको भनाई छ ।

प्रकाशित मिति:August 20, 2024