भारतमा आरक्षणको विषयमा आन्दोलन सुरु, आज भारत बन्द आह्वान

  Sampatti News 2024

August 21, 2024

काठमाडौं । आरक्षणको विषयलाई लिएर भारतका दलित र जनजाती संगठनहरुले आज भारत बन्द आह्वान गरेका छन् । बन्द आह्वानलाई बहुजन समाज पार्टी (बसपा), राष्ट्रिय जनता दल , आजाद समाज पार्टी लगायतका विभिन्न दलहरुले पनि समर्थन गरेका छन् ।

बसपाकी प्रमुख मायावतीले सर्वोच्चको फैसला अनुसार संविधान संशोधनको माग गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न आह्वान गरेकी छन् । मायावतीका भतिजा आकाश आनन्दले भारत बन्दको क्रममा बसपाका कार्यकर्ताहरु पार्टीको झण्डासहित शान्तिपूर्ण रुपमा प्रदर्शनमा सहभागी हुने बताएका छन् ।

बन्दलाई लक्षित गरी राजस्थान, लखनउ, मध्य प्रदेश लगायतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । लखनउमा निषेधाज्ञा नै लागू गरिएको छ । मध्यप्रदेश सरकारले पनि सुरक्षाकर्मीलाई अलर्ट राखेको छ । मध्यप्रदेश सरकारले नै जिल्लाहरुमा सबै प्रकारका शिक्षण संस्था बन्द गर्न भनेको छ ।

यसअघि सन् २०१८ को अप्रिल २ मा दलित संगठनहरुले आह्वान गरेको भारत बन्दको क्रममा विभिन्न ठाउँमा हिंसा भएको थियो । मध्यप्रदेशमा ६ जनाको मृत्यु भएको थियो । त्यसैले आजको बन्दमा मध्यप्रदेशमा बढी सुरक्षा सतर्कता अपनाइएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

प्रकाशित मिति:August 21, 2024