नार्कका बैज्ञानिक कर्मचारीले सुरु गरे आन्दोलन, अदालतको परमादेश कार्यान्वयनमा ल्याउन माग

निमित्त कार्यकारी निर्देशक डा. दोज़ राज खनालको कार्यकक्षमा तालाबन्दी

  Sampatti News 2024

August 21, 2024

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा कार्यरत कर्मचारीहरुले कार्यालयका अति आवश्यक बाहेकका सबै कामकाज बन्द गर्दै आन्दोलनको सुरु गरेका छन् ।

कर्मचारीहरुले केन्द्रीय कार्यालयमा तालाबन्दी, अन्य कार्यालयमा पेन डाउन, कार्यकालका चार पाङ्ग्रे गाडी प्रयोगमा निषेध लगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्दै आन्दोलनमा उत्रीएका हुन् ।

वैज्ञानिक कर्मचारीहरूलाई विभेदकारी ढंगबाट कम हुने गरी तलबमान कायम गरिएको भन्दै उनीहरूले पशुपक्षी तथा माछाको दानापानी, बालीनालीमा सिँचाइ, मलखाद र औषधि उपचार बाहेकका सबै कामकाज बन्द गरेका छन् ।

आज पहिलो दिन नार्कका निमित्त कार्यकारी निर्देशक डा. दोज़ राज खनालको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलनमा उनीहरु उत्रिएका हुन् ।

वैज्ञानिक तथा प्राविधिक प्रशासनिक समूहका समकक्षी कर्मचारीबिच तलबमान लगायतका सेवा सुविधा विगतमा समान रहे पनि २०५७ साल श्रावण १ गते देखि अन्यायपूर्ण तरिकाले तलबमानमा त्रुटि भएको परिषद्का कर्मचारीले बताउँदै आएका छन् । तलबमानमा गरिएको त्रुटिलाई सच्चाउन परिषद् समक्ष मौखिक र लिखित रूपमा पहल गरे पनि विभिन्न बहाना देखाएर परिषद्ले वैज्ञानिकको पक्षमा कुनै ठोस कदम नचालेको भन्दै गत चैत १५ गते उच्च अदालत पाटन रिट दायर भएको थियो ।

सोही रिटउपर अदालतले जेठ २ गते समान समकक्षी तहका प्राविधिक प्रशासनिक कर्मचारीहरू भन्दा निज रिट निवेदकहरूलाई कम हुने गरी आधारभूत तलबमान कायम हुनु असमान र विभेदकारी भएकोले साउन १ गतेबाट लागू हुने गरी समकक्षी तथा प्राविधिक प्रशासनिक कर्मचारीसँग समान हुने गरी समानताको आधारमा तलबमान निर्धारण गरी कार्यान्वयन गराउन परमादेश दिएको थियो । तर, यो कार्यान्वयन भएको छैन ।

प्रकाशित मिति:August 21, 2024