अझै आफ्नै प्रशासकीय भवनविहीन गाउँपालिका, भाडाको घरबाटै सेवा दिदै

  Sampatti News 2024

August 21, 2024

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाले सात वर्षमा पनि प्रशासकीय भवन निर्माण गर्न सकेको छैन । गाउँपालिका हालसम्म प्रशासकीय भवन निर्माण गर्ने स्थानको बिवाद र राजनीतिक सहमति जुट्न नसक्दा आफ्नै प्रशासकीय भवनविहीन बन्न पुगेको हो । २०७४ असारमा निर्वाचित जनप्रतिनिधिले भाडाको कार्यालयबाट पाँच वर्षे कार्यकाल बिताएका थिए । घर भाडामा मात्रै गाउँपालिकाको लाखौं रुपैयाँ खर्च भएको थियो, तर गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य अघि बढ्न सकेन ।

पटक–पटकको जग्गा बिवाद र राजनीतिक खिचातानीकै कारण भवन बन्न नसकेको जनप्रतिनिधि नै स्वीकार गर्छन् । २०७९ बैशाकमा निर्वाचित हालका जनप्रतिनिधिहरुको कार्यकाल पनि दुई वर्ष बितेको छ । तर भवन बन्ने अत्तोपत्तो छैन ।

“सात वर्षदेखि राजनीतिक विवादका नाममा बन्न नसकेको प्रशासकीय भवन दोस्रो कार्यकालका जनप्रतिनिधिले पनि निर्माण गर्लान भन्ने आश मरिसकेको छ,” स्थानीयवासी गणेश काफ्लेले भने, “गाउँपालिकाले वडा नम्बर १ को पृथ्वी मा।वि।को छेउमै निःशुल्क जग्गा दिने दाता पाएको थियो । सो स्थानमा भवन बनाउन सहमति नहुँदा हाल १५ शैयाको अस्पताल निर्माणाधीन अवस्थामा छ । त्यहाँ गाउँपालिकाको भवन निर्माण गर्ने सपना अधुरै रह्यो ।”

दोस्रो कार्यकालका लागि स्थानीय तहको निर्वाचन भइसक्दा पनि प्रशासनिक भवन कहाँ निर्माण गर्ने भन्ने विषयमा टुङ्गोमा नपुग्नु दुखत रहेको कुम्मायक–२ का स्थानीय खिमसेमी सेर्माले बताउनुभयो । ‘आफ्नो भवन समेत बनाउन नसकेपछि अन्य विषयमा के होला ? कस्तो होला ? भन्ने विषय धेरै परको कुरा हो । सेर्माले भने् दोस्रो कार्यकालमा पनि भवन पुरा नभए जनप्रतिनिधि नै असफल हुने छन।”

भौगोलिक एवं राजनीतिक रूपमा स्वार्थ बाझिँदा गाउँपालिकाको भवन निर्माण पेचिलो बन्दै गएको छ । २०७४ सालदेखि २०७८ सालसम्म पाँच वर्ष गाउँपालिकाले भाडाको घरबाट सेवा प्रवाह गरेको थियो । २०७९ देखि २०८१ सम्म आइपुग्दा प्रदेश सरकारले निर्माण गरेको आवाशी भवनबाट कार्यालय सञ्चालन हुँदै आएको छ । गाउँपालिकाले निःशुल्क जग्गा पाउँदा पनि त्यस जग्गामा भवन बनाउन सर्वदलीय सहमति जुटाउन सकेको छैन । पछिल्लो समय भवन निर्माण गर्नको लागि कुम्मायक–४ रानीगाउँ र हाल पालिकाको केन्द्र यासोक बजारको छेउमै दुई वटा जग्गाको टुङ्गो लागेको छ । तर एक पक्षले यासोकमा बनाउनु पर्ने र अर्को पक्षले केन्द्र आसपासको रानीगाउँमा बनाउनु पर्ने विषयमा विवाद छ । तर उक्त विवादको टुङ्गो पालिकाले लगाउन सकेको छैन ।

राजनीतिक खिचातानी मुख्य कारण

पाँचथर जिल्लाका आठ स्थानीय तहमध्ये कुम्मायक गाउँपालिका एक हो । संघीय संरचना अनुसार कुम्मायक साविक यासोक, रानीगाउँ, स्याबरुम्बा र माङजाबुङलाई मिलाएर निर्माण भयो । स्थानीय तहको गठन पश्चात निर्वाचित जनप्रतिनिधिले सुरुवाति समयमा भाडाको घरबाट पालिका सञ्चालन गरे । सुरुमा जग्गाको सुनिश्चित नगरी बजेट बिनियोजन गर्दा आर्थिक वर्ष २०७६÷०७७ सालमा बजेट फ्रिज भयो । भवनका लागि जग्गा तय भए पनि राजनीतिक सहमति नभएपछि पालिकाको भवन निर्माणका लागि बिनियोजन भएको बजेट फ्रिज भयो ।

कुम्मायक गाउँपालिका प्रवक्ता देबेन्द्र कुमार लावतीका अनुसार आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट बिनियोजन गरेर पालिका भवन निर्माण गर्ने प्रकृया अघि बढेको बताउछन् । “हामीले जग्गाको सुनिश्तिता गरेका छौँ । राजनीतिक सहमति जुटेको छ । अब यो आर्थिक वर्षमै भवन निर्माणको प्रकृया अघि बढ्छ”, लावतीले भने । गाउँपालिकाको केन्द्रमा रहेको यासोक बजारमै पालिका भवन बन्ने प्रकृया अघि बढेको भन्दै लावतीले अब कुनै पनि हालतमा भवन निर्माणमा ढिलासुस्ती नहुने बताएका छन् ।

प्रकाशित मिति:August 21, 2024