भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै एक्सक्युज नखोज्नेः प्रधानमन्त्री ओली

  Sampatti News 2024

August 22, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै एक्सक्युज नखोज्ने बताएका छन् ।

प्रतिनिधि सभामा बिहिबार भएको प्रश्नउत्तर कार्यक्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै उनले शुन्य सहनशीलताको नीति मौखिक प्रतिवद्धता मात्र नभएको बताए ।

भ्रष्टाचार नियन्त्रण हो हल्लाको विषय नभई कानुनी अनुसन्धान र नतिजामुखी हुर्नेमा उनले जोड दिए ।

‘भ्रष्टाचार नियन्त्रणलाई क्षणिक प्रचारको विषय बनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया अपनाएर टुंगोमा पुर्‍याउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले कुनै एक्सक्युज (बहाना) खोज्दैन, काम गर्छ ।’

ओलीले संविधानको रक्षा र कार्यान्वयनमा सरकार दृढ रहेको भन्दै जनताका समस्याहरुको समाधान र अधिकारहरुको सुरक्षा गरिने बताए ।

सरकारले जनतामा निराशा नहोस् भनेर सचेत भएर काम गरिरहेको र जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा सरकार लागेको भन्दै सो अनुसारको परिणाम पनि आएको उनले दाबी गरे ।

उनले अब मन्त्रीहरुसँग गर्ने कार्यसम्पादन सम्झौतामा समेत यसलाई उल्लेख गर्ने जानकारी दिए ।

प्रकाशित मिति:August 22, 2024