समयमै चुनावी तयारी गर्ने रणनीति बनाउदै राप्रपा

  Sampatti News 2024

August 25, 2024

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘समयमै चुनावी तयारी’ गर्ने रणनीति अख्तियार गरेको छ । राप्रपा संगठन विभागले स्थानीय चुनावमा अर्जुनदृष्टि लगाएर आधार तहमै पुगेर संगठन विस्तार गर्ने रणनीतिक कार्यक्रम जारी राखेको छ ।

‘समय छँदै चुनावी तयारी’ भन्ने नारासहित संगठन विभाग क्रियाशील भएको राप्रपाले जनाएको छ । नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी ३४ वटा रित्त पदका लागि हुने उपनिर्वाचनलाई समेत संगठन विभागले प्राथमिकतामा राखेको छ ।

‘आसन्न उपनिर्वाचनमा पार्टीभित्रको ज्ञान र उर्जालाई उपयोग गर्नुपर्दछ भन्ने निष्कर्षसाथ रणनीतिक रुपमा हामी अघि बढीरहेका छौं, आधार तहको संगठन मजबुत बनाउन हामी क्रियाशील छौं,’ महामन्त्री तथा संगठन विभाग प्रमुख धवलशम्सेर राणाले आइतबार भने ।

स्थानीय निर्वाचनमात्र होइन त्यसपछिका संसदीय चुनावी सफलताका लागि पनि समय छँदै तयारी भन्ने गुरुमन्त्रमा राप्रपाले जोड दिनेछ ।

‘स्थानीय तहको संगठन राजनीतिक दलको मेरुदण्ड हो,’ राणाले भने । ‘जनताको सबैभन्दा नजिक रहने आधार तहको संगठन जति सबल, सजग, आत्मनिर्भर र प्रभावकारी रहन्छ, त्यही रुपमा जनताको समर्थन प्राप्त हुन्छ । यस अर्थमा जनसमर्थन अभिवृद्धी गर्दै राप्रपाले निर्दिष्ट गरेको लक्ष्य प्राप्त गर्न, नवीन समझदारी कायम गर्न स्थानीय संगठनको महत्व र भूमिका कम आंकलन गर्न सकिन्न ।’

संगठन विभागको कार्ययोजनाअनुुुरुप, भदौभित्र काठमाडौं उपत्यकाकेन्द्रीत संगठन विस्तार कार्यक्रम सम्पन्न गरिनेछ । त्यसपछि असोज र कार्तिक महिनामा स्थानीय तहको सक्रिय सहभागितामा सातैवटा प्रदेशमा संगठन विस्तार कार्यक्रम सम्पन्न गरिनेछ ।

यस सम्बन्धमा संगठन विभागले पार्टीका प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, निर्वाचन क्षेत्र प्रदेश अध्यक्ष, महानगरपालिका / उपमहानगरपालिका / नगरपालिका/गाउँपालिका अध्यक्ष सबैलाई पत्राचार गरीसकेको छ ।

प्रकाशित मिति:August 25, 2024