डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट ६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनु पर्छः प्रधानमन्त्री ओली

  Sampatti News 2024

August 25, 2024

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट ६ अर्ब मात्र नभएर २२ अर्ब उठाइनु पर्ने बताएका छन् ।

आज सामाजिक सञ्जालमा फेसबुकमा एक स्टाटस लेख्दै उनले सरकारले महसुस उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको भन्दै ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्ने बताएका हुन् ।

उनले लेखेका छन् – ६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनु पर्छ !
केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट सरकारले महसुस उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको छ। तर सरकारको कुरा यत्रो ९ वर्षसम्म किन २१ अर्ब ८८ करोड रुपैयाँ महसुल उठाइएन, किन १६ अर्ब छुट दिइयो भन्ने हो । उद्योग बन्द नगरी, रोजगारी र उत्पादनमा असर नपुर्याई उद्योगहरुबाट बक्यौता उठाउनै पर्छ, रेकर्डमा देखिएको महसुलमा एक रुपैयाँ पनि छुट दिनु हुँदैन। ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्छ।

प्रकाशित मिति:August 25, 2024