सेयर बजार उच्च अंकले घट्यो, १९ अर्ब ७४ करोडको कारोबार

  Sampatti News 2024

August 27, 2024

काठमाडौं । सेयरबजार उच्च अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक १११ दशमलव ९६ अंकले घटेर २७८२ दशमलव ६० विन्दुमा झरेको हो।

सेयरबजार पछिल्ला दुई कारोबार दिनमा १९१ दशमलव ८४ अंकले घटेको हो। आइतबार ७९ दशमलव ८८ अंकले घटेको थियो।

यद्यपि कारोबार रकममा भने धेरै फेरबदल भएको छैन। आइतबार १९ अर्ब ७४ करोडको सेयर किनबेच भएको थियो। सोमबार कारोबार भएन। मंगलबार १८ अर्ब ६४ करोड ९५ लाखको खरिदबिक्री भएको छ। ४ करोड ३८ लाख कित्ता सेयर खरिदबिक्रीमा मंगलबार उक्त कारोबार भएको हो। मंगलबार २० कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २२३ कम्पनीको घटेको र एउटाको आइतबारकै मूल्यमा कारोबार भएको छ।

आजको कारोबारमा तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र डोल्टी पावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। योसँगै लगानीकर्ताले क्रमशः प्रतिकित्ता १२९ दशमलव ४० रुपैयाँ, ३४२ दशमलव २० रुपैयाँ र ६१ दशमलव ८० रुपैयाँ आम्दानी गरेका छन्। अन्य कम्पनीको सेयर अधिकतम ९ दशमलव ८१ प्रतिशतसम्मले बढेको छ।

आज नेपाल फाइनान्सको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। योसँगै लगानीकर्ताले २०३ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। त्यसबाहेक रिडी पावर कम्पनी, नेसनल हाइड्रोपावरलगायतको पनि मूल्य घटेको छ।

सर्वाधिक कारोबारमा हिमालय रि इन्स्योरेन्स अगाडि छ। कम्पनीको ६५ करोड ४२ लाख, अपि पावरको ५१ करोड ७५ लाखको कारोबार भएको छ।

प्रकाशित मिति:August 27, 2024