‘प्रहरीका उच्च पदस्थ अधिकारीहरुको बैंक खाता ‘चेक’ गर्ने, ट्राफिक १० बर्षसम्म एउटै अफिसमा बस्न नपाउने’

  Sampatti News 2024

August 28, 2024

काठमाडौं । प्रहरीले उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता ‘चेक’ गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उच्च पदस्थ प्रहरी अधिकारीहरूको बैंक खाता चेक गरिने बताएका हुन् ।

उनले भने –‘ प्रहरीको काम र व्यवहारप्रति नागरिक स्तरमा नकारात्मक छवि बनेको र गुनासा आउने गरेकाले प्रहरी अधिकारीको बैंक खाता चेक गरी अनुचित आम्दानी गरेकालाई कारबाही हुन्छ ।,’

कुँवरले प्रहरीभित्र आन्तरिक शुद्धिकरणको अभियान अहिलेको मुख्य प्राथमिकतामा रहेको बताए ।

महानिरीक्षक कुँवरले ट्राफिक प्रहरीप्रति जनस्तरमा सबैभन्दा धेरै नकारात्मक टिप्पणी र गुनासा रहेको बताउँदै नसुध्रिए कारबाहीको भागिदार हुने बताए ।

ट्राफिक प्रहरीमा १० बर्ष एउटै अफिसमा बस्ने प्रवृत्ति रहेको भन्दै अब यो स्वीकार्य नहुने उनको भनाइ छ ।

रुपन्देही अन्तर्राष्ट्रिय पर्यटकीय स्थल भएकाले यहाँ हुने प्रहरीको व्यवहारले विश्वभर सन्देश जाने उनले बताए ।

रुपन्देहीमा पनि प्रहरीको व्यवहार आफूलाई चित्त नबुझेको भन्दै महानिरीक्षक कुँवरले राजस्व चुहावट भएकोमा असन्तुष्टि जनाए ।

प्रकाशित मिति:August 28, 2024