गण्डकीमा समायोजन भएका कर्मचारीहरू बढुवा हुनबाट वञ्चित

  Sampatti News 2024

August 29, 2024

काठमाडौं । गण्डकी प्रदेशमा समायोजन भएका कर्मचारीहरू बढुवा हुनबाट वञ्चित भएका छन् । पाचौँ तहबाट छैटौँ तहमा तह वृद्धि हुने ३४ जना कर्मचारीहरूको बढुवा रोकिएको बुझिएको छ ।

प्रदेशका मन्त्रालय, निकाय र आयोगहरूमा कार्यरत कर्मचारीहरू समायोजन ऐन २०७५ बमोजिम सहायकस्तर पाचौँ तहमा गण्डकी प्रदेशमा समायोजन भएका कर्मचारीहरू बढुवा हुनबाट वञ्चित भएका हुन् । बढुवा रोकिनेमा सबैभन्दा बढी कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेशका १३ जना कर्मचारीहरू छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १, आर्थिक मामिला मन्त्रालयका २, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका ४, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका १३, सामाजिक विकास मन्त्रालयका ३, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका ९, प्रदेश लोक सेवा आयोगका २ गरी ३४ कर्मचारीहरूको बढुवा रोकिएको हो ।

गण्डकी प्रदेश सरकार अन्तर्गतका मन्त्रालय, निकाय र आयोगहरूले कर्मचारीको तह वृद्धिका लागि २०८१ साल असार मसान्तसम्मको समय तोकेर आवेदन दिन सक्ने गरी सूचना प्रकाशित गरेका थिए । २०८१ साउन १ गतेदेखि लागू हुने तह वृद्धिको सूचना अनुसार कर्मचारीहरूले आवेदन पनि दिए । तर, बढुवाका लागि सँगै आवेदन दिएका सातौँ र नवौँ तहका कर्मचारीको बढुवा हुँदा पाचौँ तहबाट छैटौँ तहमा बढुवा हुने समायोजन भएका कर्मचारीहरूको बढुवा रोकिएको हो ।

कर्मचारी समायोजन ऐन २०७५ बमोजिम सहायकस्तर पाचौँ तहमा गण्डकी प्रदेशमा समायोजन भएका कर्मचारीहरूको बढुवा रोकिएको हो । ऐन तथा कानूनमा बढुवाको व्यवस्था भए पनि प्रदेश सरकारले आफूहरूको बढुवा रोकेको कर्मचारीहरूको आरोप छ ।

प्रकाशित मिति:August 29, 2024