भावी मुख्यसचिव एक नारायण अर्याल बन्ने निश्चित

  Sampatti News 2024

August 29, 2024

काठमाडौं । यतिवेला सरकारले भावी मुख्यसचिव कसलाई बनाउछ भन्ने चर्चा व्यापक छ । २६ औं मुख्यसचिव लिलादेवी गड्तौलाको यहि भदौ १५ गते समयावधि समाप्त हुँदैछ ।

आज साँझ ५ बजे बस्ने मन्त्रीपरिषद्को बैठकले मुख्यसचिवमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा छलफल हुने स्रोतले बताएको छ । विश्वस्त स्रोतका अनुसार २७ औं मुख्यसचिव सिनियर सचिव एक नारायण अर्याललाई बनाउने तयारी भएको छ ।

सत्ता साझेदारी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति गरिसकेकाले आजको मन्त्रीपरिषद् बैठकमा भावी मुख्यसचिवमा अर्याललाई नियुक्त गर्ने निर्णय गरिने स्रोत दाबी गर्छ ।

कार्यसम्पादनमा अब्वल रहेका सक्षम, योग्य, इमानदार, कार्यकुशल र स्वच्छ छविका गृह मन्त्रालयका सिनियर सचिव एक नारायण अर्याललाईनै मुख्यसचिवमा नियुक्त गर्ने सहमति भएको ओली निकट स्रोतको दाबी छ ।

को हुन मुख्यसचिव बन्न लागेको अर्याल ?

अर्याल नेकपा(एमाले) निकट भएपनि उनको प्रशासनिक सेवा प्रवाह अब्बल हुने गरेको चर्चा बेला मौका हुने गरेको छ ।
उनले सेवा प्रवाहमा कुनै पनि राजनीतिक रंग नदिइ निष्पक्षरूपमा सेवा प्रदान गर्ने गरेका छन् । अर्याल अहिलेसम्म कुनैपनि विवादमा मुछिएका छैनन् ।

अर्याल मकवानपुर, काठमाडौंलगायतका जिल्लाको सिडिओ भई हालसम्म कुशल प्रशासकको भुमिका निर्वाह गरिसकेका छन् ।
२०७२ सालको विनाशकारी भुकम्पको बेलामा काठमाडौंको सिडिओ हुँदा उनले भुकम्पको प्रकोपमा परेका राजधानीबासीको उद्वार, उपचार, राहत र पुनःस्थापनामा महत्वपूर्ण भुमीका निर्वाह गरेर नागरिक तहमा धेरैको मन जितेको विषय वेला बखत चर्चामा आउने गरेको छ ।

काठमाडौंको सिडिओपछि उनको भारतको कलकत्तास्थित महावाणिज्यदूतमा रहेर काम गरेका थिए । उनले त्यहाँ चार वर्ष महावाणिज्यदूत भएर आयात व्यापार, निर्यात व्यापार, ओैद्योगिक कच्चा पदार्थको आयात र निर्यात व्यापार सहजिकरणमा धेरै ठुलो योगदान दिएका थिए ।

कलकत्तामा महावाणिज्यदूत हुँदा नै सचिवमा बढुवा भएका अर्याल काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत, संघिय मामिला तथा सामान्य प्रशासन सचिव, श्रम,रोजगार तथा सामाजिक सुरक्षा सचिव भएर ती मन्त्रालयमा ऐन कानुनगत र संरचनागत सुधार, कर्मचारी प्रशासनको सेवा प्रवाहमा सुधार गरेका थिए, कर्मचारी सरूवामा पारदर्शीता अपनाएर उनी चर्चामा आएका थिए । पछि एमाले, माओवादी केन्द्र र रास्वपाको गठबन्धन सरकारका बेलामा रास्वपाका सभापति रवी लामिछाने उपप्रधानमन्त्री तथा गृह मन्त्री भएपछि गृह सचिवमा सरूवा भएका थिए । गृह सचिवमा उनको भुमिका सन्तुलित र प्रभावकारी देखिदै आएको छ । उनलाई मुख्यसचिव बनाउन प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतका नेतादेखि उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृह मन्त्री रमेश लेखक लागेको बुझिएको छ ।

अरु सचिव पनि मुख्यसचिव बन्ने कसरतमा

स्रोतका अनुसार अर्यालबाहेक अन्य सचिवहरु पनि मुख्यसचिव बन्ने कसरत गरिरहेको बुझिएको छ ।
२०७७ भदौमा सचिवमा बढुवा भएका राष्ट्रिय योजना आयोगका सचिव तोया नारायण ज्ञवाली, महिला बालवालिका तथा जेष्ठ नागरिक सचिव दिनेश भट्टराई, भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण सचिव अर्जुनप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कृष्णहरि कर्ण पुष्करले मुख्यसचिव बन्न लागि परेको स्रोतले बताइएको छ । तर, अर्याल यी सबैलाई उछिनेर मुख्यसचिव बन्ने निश्चित भएको हाम्रो स्रोतको दाबी छ ।

प्रकाशित मिति:August 29, 2024