काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीका लागि निःशुल्क खानेपानीको व्यवस्था गरिएको छ । मारवाडी सेवा समिति नेपालले जिल्ला प्रशासन कार्यालयमा निः शुल्क खानेपानी जडान गरीदिएको हो । समितिले आफ्नो स्थापनाकालदेखि नै विभिन्न संघ संस्था एवं भिडभाड रहने सरकारी निकायमा खानेपानीको व्यवस्था मिलाउदै आएको छ ।
सेवा कार्यहरुलाई विस्तार गर्दै सेवाग्राहीहरुको अत्यन्त भिडभाड हुने देशकै राजधानी जिल्ला प्रशासन कार्यालय काठमाडौंमासमेत खानेपानीको आवश्यकता देखिएकाले समितिले जडान गरिदिएको हो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको पहलमा भएको कार्यले सो सेवालाई दिर्घकालिन रुपमा प्रयोग हुने गरी पिउने पानीको व्यवस्थाका लागि अत्याधुनिक आरो फिल्टर प्लान्टसहितको बुथ निर्माण गरी भदौ १० गते सोमबारबाट खानेपानीको व्यवस्था मिलाइएको समितिले जनाएको छ ।
प्रजिअ बस्नेतले उक्त खानेपानीको उद्घाटन गर्दै समितिले देखाएको उदारताको प्रसंसा गरेका छन् । हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बस्नेतले भने –‘ मारवाडी सेवा समिति नेपालद्वारा गरिएका सेवा कार्यहरु प्रसंसनिय छन् । प्रशासन कार्यालयमा सेवा लिन आउने आम सर्वसाधारणलाई शुद्ध पिउने पानीको दिर्घकालिन व्यवस्था गरी पुण्यको काम समितिले गरेको छ । आगामी दिनहरुमा समिति र जिल्ला प्रशासन कार्यालयबीचको सम्बन्ध अझ प्रगाढ बन्नुपर्छ ।’
हस्तान्तरण तथा उद्घाटन कार्यक्रममा समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालले सेवा गर्ने अवसर प्रदान गरिदिएकोमा प्रमुख जिल्ला अधिकारी बस्नेतलगायत अन्य कर्मचारीलाई धन्यवाद दिएका छन् ।
कार्यालयमा काम लिएर आउने सर्वसाधारणलाई स्वच्छ पानी पिउन पाउन भन्ने उदेश्यका साथ खानेपानीको व्यवस्था गरिएको सहायक प्रजिअ माधवप्रसाद ढुंगानाले जानकारी दिए ।

