गाजा युद्ध अन्त्य गर्न इजरायलमाथि चर्को दबाब

  Sampatti News 2024

September 4, 2024

जेरुसेलम । संयुक्त राज्य अमेरिकाले गाजा युद्ध अन्त्यका लागि इजरायल र हमासबीच भएको सम्झौतालाई ‘अन्तिम रूप’ दिने समय आएको बताएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अन्तर्राष्ट्रिय दबाबसामु झुक्न अस्वीकार गरिरहेका बेला इजरायलको प्रमुख सहयोगी अमेरिकाले सम्झौताका लागि जोड दिएको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले इजिप्ट र कतारसँग मिलेर अन्तिम सहमतिका लागि दबाब दिने बताएका छन् ।

नेतन्याहूले युद्धग्रस्त प्यालेस्टिनी भूमिबाट मारिएका छ जना बन्धकलाई इजरायली सेनाले स्वदेश लगेपछि बढ्दो घरेलु र अन्तर्राष्ट्रिय दबाबका बाबजुद हमाससँगको अप्रत्यक्ष वार्तामा ‘लचकता अपनाउन’ अस्वीकार गरेपछि मिलरको यो भनाइ आएको हो । मिलरले भने, ‘यो सम्झौतालाई अन्तिम रूप दिने समय हो ।’

संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर तुर्कले गाजाबाट मृत अवस्थामा फेला परेका छ जना बन्दीलाई मृत्युदण्ड दिइएको भन्ने समाचारको ‘स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन’ हुनुपर्ने बताएका छन् । सरकारलाई दबाब दिन र बन्धक बनाइएकाहरूको भविष्यबारे चिन्ता व्यक्त गर्न सडकमा उत्रिएका इजरायलीहरूबीच बढ्दो दुःख र आक्रोशका बाबजुद नेतन्याहूले आफू ‘दबाबमा नझुक्ने’ बताएका छन् ।

प्रकाशित मिति:September 4, 2024