भारतको उत्तरपूर्वी राज्य मणीपुरमा फेरि हिंसा घटनाहरु बढ्न थाले

  Sampatti News 2024

September 8, 2024

काठमाडौं । भारतको उत्तरपूर्वी राज्य मणीपुरमा फेरि हिंसा फैलिएको छ ।

एक वर्षअघि भएको जातीय विभाजनको विषयले आक्रमणका घटनाहरु बढ्न थालेका हुन् । शुक्रबार त्यहाँ विद्रोही समूहले ड्रोन आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएको मणिपुर प्रहरीले जनाएको छ ।

मणिपुरको मोइराङ शहरमा कुकी विद्रोही समूहले गरेको ड्रोन आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

मणिपुर राज्यको राजधानी इम्फालबाट ३५ किलोमिटर टाढा विष्णुपुर जिल्लाको लेकसाइड टाउनमा भएको आक्रमणमा परी १३ वर्षीया बालिकासहित पाँच जना घाइते भएका छन् । कुकी विद्रोहीहरूले पछिल्लो पाँच दिनमा ड्रोन र रकेट आक्रमणबाट घाइते भएकी उनी दोस्रो नाबालिग हुन् ।

त्यस्तै आज पनि उक्त समूहले रकेट आक्रमण गरेको थियो । मणिपुरका पहिलो मुख्यमन्त्री माइरेम्बम कोइरेङ सिंहको घरमा प्रहार गरेको छ, जो उत्तरपूर्वीको सबैभन्दा ठूलो ताजा पानीको ताल लोकटकको किनारमा रहेको मोइराङ सहरको मुटुमा रहेको भारतीय राष्ट्रिय सेना ९आईएनए० संग्रहालयबाट मात्र १०० मिटर टाढा छ ।

मेइतेई समुदायका ७८ वर्षीय वृद्ध आरके रबेई प्रार्थना गरिरहेका बेला रकेटको छर्रा टाउकोमा प्रहार भएको छिमेकीहरूले बताएका छन् । उनले जम्मा गरेका पात र फलफूलजस्ता प्रार्थना सामग्रीहरू नजिकै भुइँमा रगत बगेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ रहेको छ ।

त्यसो त एक वर्षअघि दुई समुदायबीच भएको हिंसामा परि सयौँ नागरिकले ज्यान गुमाएका थिए । उनीहरुबीच अधिकारका विषयमा लडाइँ भइरहेको हो ।

त्यहाँ हिंसाले चर्को रुप लिने देखिएपछि स्थानीय सरकारले त्यहाँका विद्यालय बन्द गर्न आदेश दिएका छन् ।

प्रकाशित मिति:September 8, 2024