शेयर बजार दोहोर अंकले घट्यो

  Sampatti News 2024

September 8, 2024

काठमाडौं । आज पनि शेयर बजारमा पहिरो गएको छ । अघिल्लो सातादेखि निरन्तर ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यो साताका पहिलो दिन आजा (आइतबार) दोहोरो अंकले ओरालो लागेको हो ।

आज नेप्से परिसूचक २५ दशमलव ४६ अंकले ओरालो लागेर दुई हजार सात सय एक दशमलव ९० मा सिमित भएको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६३ अंकले ओरालो लागेर चार सय ७९ दशमलव ७२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ ।

कूल दुई करोड २२ लाख ६२ हजार नौ सय २४ कित्ता शेयर रु १० अर्ब १२ करोड २४ लाख आठ जार दुई सय ४८ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार माहुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, मनकामना इञ्जिनियरिङ हाइड्रोपावर नौ दशमलव ९५ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले आठ प्रतिशतले कमाएका छन् ।

प्रकाशित मिति:September 8, 2024