चेक बाउन्स गर्नेलाई १ महिनादेखि अधिकतम २ वर्षसम्म कैद सजाय हुने

  Sampatti News 2024

September 8, 2024

काठमाडौं । चेक बाउन्स गर्नेलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ ।

सिंहदरबारमा आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले १५ लाख रुपैयाँसम्मको चेक अनादरमा १ महिना कैद, ५० लाख सम्मकोमा तीन महिना, १ करोड सम्मकोमा १ वर्ष र करोडभन्दा माथिको चेक अनादरमा दुई वर्षको कैद सजाय हुने विषयमा सहमति जुटाएको हो ।

बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलमा चेक अनादर भएको प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था उल्लेख गर्ने सहमति भएको हो ।
२०८० साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो भने तत्कालीन अर्थमन्त्री अर्थमन्त्री डा।प्रकाशशरण महतले २०८० असोज १६ गते यो विधेयक सदनमा दर्ता गरेका थिए । चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनका लागि सरकारले विधेयक ल्याएको हो ।

छलफलमा सजाय दिएर पनि पैसा असुल नहुने अवस्थालाई पनि अन्त्य गर्नुपर्ने र पीडितलाई न्याय हुने गरिनै विधेयकलाई अन्तिम रूप दिइने समिति सभापति सन्तोष चालिसेले बताए ।

प्रकाशित मिति:September 8, 2024