काठमाडौं लगायतका सिडिओ हेरफेर, अरु जिल्लामा पनि सरुवाको तयारी

  Sampatti News 2024

September 11, 2024

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं लगायतमा प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरेको छ । काठमाडौको प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्येलाई ल्याउने निर्णय भएको छ । आचार्य कुशल प्रशासकका रुपमा परिचित छन् ।

गृह सचिवमा गोकर्णमणि दुवाडीले जिम्मेवारी सम्हालेपछि गृह मातहतका कर्मचारी हेरफेर भएको हो । गृहले रिक्त रहेका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी समेत पठाइएको छ ।

सिन्धुलीको सिडिओमा गृहमन्त्रालयबाट लीला प्रसाद शर्मालाई पठाइएको छ । यसैगरी अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई रिक्त सिन्धुपाल्चोकको सिडिओको रुपमा पठाइएको छ । यसैगरी गृह मन्त्रालयकै उपसचिव रमा आचार्य सुवेदीलाई जिल्ला प्रशासन कार्यालय प्युठानको सिडिओमा पठाइएको छ ।
प्युठानका सिडिओ नारायण प्रसाद अर्याललाई मन्त्रालयमा सरुवा गरिएको छ । यसैगरी इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका बाबुराम अर्याललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक सिडिओ मेघनाथ उपाध्यायलाई इलाका प्रशासन कार्यालय चन्द्रौटामा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । यसैगरी काठमाडौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

गृह मन्त्रालयले मंगलबार राती सरुवाको विषयमा निर्णय गरेको हो । यो पहिलो चरणको सरुवा भएको र अन्य ठाउँमा दोस्रो चरणको सरुवा हुने पनि गृह स्रोतले बताएको छ ।

गृहस्रोतका अनुसार थप एक दर्जन सिडिओको सरुवा गर्ने गरी थप गृहकार्य जारी राखिएको हो ।

प्रकाशित मिति:September 11, 2024