आन्तरिक उडान र लामो दुरीका सवारीसाधन असोज ५ गतेदेखि सञ्चालन हुने

  Sampatti News

September 15, 2020

काठमाडौँ । सरकारले आन्तरिक उडान र लामो दुरीका सवारीसाधन असोज ५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण रोकिएको आन्तरिक उडान र लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको महामारीको त्रासकाबीच दशैँ तिहारजस्ता चाडबाड सुरू हुनै लाग्दा नागरिकस्तरबाट लामो दूरीका सवारी साधन के हुने भन्ने चासो बढिरहेका बेला सरकारले सबै सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

स्वास्थ्य सावधानीका उपाय अपनाउँदै सवारीसाधन चलाउन दिने भन्ने मापदण्ड सम्बन्धित मन्त्रालयले गर्नेछन् ।अन्तर्राष्ट्रिय हवाई उडान र छोटो दूरीका सवारी साधन सञ्चालन भएपनि संक्रमण बढेको भन्दै सरकारले हवाई उडान र लामो दूरीका सवारी साधन सञ्चालन गरेको थिएन ।

चैत ११ बाट सुरु भएको १ सय २० दिन लामो लकडाउन सरकारले साउन ७ गते खोलेको थियो। कोरोना संक्रमण बढ्न थालेपछि फेरि भदौ ३ देखि २४ गतेसम्म २१ दिन निषेधाज्ञा लगाएको थियो। निषेधाज्ञा खुलेलगत्तै सरकारले विस्तारै जनजीवन सामान्य बनाउँदै लगेको छ।

प्रकाशित मिति:September 15, 2020