निलम्बित मेयर भरत थापाको चलाखि, भ्रष्टाचार मुद्दा छल्न यस्तो ‘सेटिङ’

आफ्नै निकट सम्बन्ध भएकाहरुलाई आफुविरुद्ध मुद्दा हाल्न लगाएपछि...

  Sampatti News 2024

September 12, 2024

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध पाँच करोड बढी रकम भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो । आयोगले गएको चैत २७ गते गैरकानूनी रुपमा ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर पश्चात उनी निलम्बित भएका छन् ।

तर, उक्त अख्तियारको मुद्दालाई प्रभावित पार्न थापाको यति सम्मको चलाखि देखियो कि जो कोही चित खान्छ ।
आफुले भ्रष्टाचार गरेको कर्तुत ढकाछोप गर्न सर्लाही जिल्ला अदालतमा थापाले आफुविरुद्ध तीनवटा मुद्दा दर्ता गराएको हाम्रो समाचार स्रोतले बताएको छ । ती पनि आर्थिक लेनदेनसम्बन्धि नै । थापाले आर्थिक लेनदेनको कारोवार मिलान नगरेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो ।

मुद्दा हाल्नेहरु थिए आफ्नै निकट सम्बन्ध भएका चेतबहादुर खड्का, सुमन थापा र हरिराम काफ्ले । चेतबहादुर र सुमनले वैशाख २४ गते र २७ गते हरिराम काफ्लेले मुद्दा दायर गरेका थिए ।

उनीहरुले कुल ४ करोड ५० हजार रुपैयाँ थापाले नतिरेको दाबी गर्दे अदालतमा मुद्दा हालेका हुन् । चेतबहादुर र सुमनले आर्थिक कारोबार मिलन नगरेको र हरिरामले जग्गाको कारोबार मिलान नगरेको विषयमा मुद्दा हालेक थिए ।
उक्त रकम अख्तियारले गैर कानुनी ढंगबाट लिएको सम्बन्धि मुद्दाबाट समावेश गरेको रकम भन्दा १ करोड ३३ लाख ३ हजार कम हो ।

अदालतले बादी र प्रतिबादीसँगको बयानमा निलम्बित मेयर थापाले फिरादपत्रको प्रतिउत्तरमा मुद्दा दायर गरेका तिनै जनाको दाबी स्वीकार गरेका छन् । उनले जतिसक्दो चाँडो आफुले उक्त लेनदेन मिलाउने बयान दिएका थिए ।
तर, यहाँनेर घटनाको ट्वीस आउछ । ज–जसले थापाविरुद्ध मुद्दा हाले उनीहरु को साइनो सम्बन्ध केलाउने हो भने सबै थापाका नजिकका साथि सम्बन्धि हुन् ।

चेतबहादुर खड्का निलम्बित मेयर थापाको सानिमाका छोरा हुन् । अर्का वादी सुमन थापा माओवादीको बरहथवा नगर समिति अध्यक्ष हुन् । भरत थापा माओवादीबाटै दोस्रोपटक बागमतीको मेयरमा निर्वाचित भएका हुन् । हरिराम काफ्ले थापाको व्यापारिक साझेदार र छिमेकी हुन् ।

हाम्रो स्रोत सुमन, चेतबहादुर र हरिरामको निलम्बित मेयर थापासँग घनिष्ठ सम्बन्ध रहेको दाबी गर्छ ।
मुद्दा दायर गर्ने तीनै जनाले निलम्बित मेयर थापाले भने अनुसारकै मुद्दा दायर गरेको अनुमान लगाईएको छ । स्थानीयका अनुसार अख्तियारमा उजुर परेता थापा पालिकामा निकै सक्रिय थिए ।

निलम्बित मेयर थापालाई नजिकबाट चिन्नेहरु अख्तियारले दायर गरेको मुद्दा प्रभावित गर्नकै लागि योजनाबद्ध रुपमा अदालतमा मुद्दा हाल्न लगाइएको दाबी गर्छन्। अख्तियारले थापाविरूद्ध मुद्दा दायर गरेयता उनीहरूले थापाकै पक्षका समाचारहरु सामाजिक सञ्जालमा सेयर गर्ने गरेको बताइएको छ । तीनै जनाले एकै ठाउँबाट फिरादपत्र र प्रतिउत्तर पत्र तयार पारेको सर्लाहीका एक अधिवक्ताले बताए । भाषा, शैली सबै एकै रहेको बताउँदै उनले मिलेमतोमा नक्कली मुद्दा दर्ता गराएको आरोप लगाएका छन् । 

अदालतको फैसला पनि दु्रत गतिमा

आफ्नै निकट सम्बन्ध भएको साथिहरुलाई मुद्दा हाल्न लगाएर अदालतलाईसमेत प्रभावित पारेको धेरैले अनुमान लगाएका छन् ।
यो मुद्दामा सर्लाही जिल्ला अदालतले पनि यति छिटो फैसला गरिदियो की थापाविरुद्ध हालिएका तीनमध्ये दुईवटा मुद्दाको फैसला आइसकेको छ ।
चेतबहादुरले वैशाख २४ गते र हरिरामले २७ गते दायर गरेका मुद्दामा जिल्ला अदालतले असार १८ गते नै फैसला सुनाएको छ ।
दुवै जनाले दायर गरेको मुद्दाको फैसला एकै दिन न्यायाधीश जीवनकुमार भण्डारीको एकल इजलास गरेको थियो । फैसलामा मुद्दा हाल्नेहरुको पक्षमा फैसला सुनाउदै दाबी बमोजिमको रकम फिर्ता गर्नुपर्ने ठहर गरेको छ ।

सुमन थापाले दायर गरेको अर्को मुद्दा अहिले विचारधिन छ । उक्त मुद्दामा ४/५ पटक पेसी चढिसकेको छ । अर्को पेसी भदौ ३० गतेका लागि तोकिएको छ ।एक पटक वादी र तीन पटक प्रतिवादीले सुनुवाइ स्थगित गराएका थिए ।

निलम्बित मेयर थापाविरुद्ध भ्रष्टचार सम्बन्धिको मुद्दा पनि अहिले विशेष अदालतमा विचाराधिन छ ।
यस्तो अवस्थामा विशेष अदालतले भने कस्तो फैसला गर्छ त्यो भने हेर्न बाँकी रहेको सरोकारबालाहरु बताउछन् ।

प्रकाशित मिति:September 12, 2024