अल जजिरा टेलिभिजन च्यानलको कार्यालयमा सेनाको छापा

  Sampatti News 2024

September 22, 2024


काठमाडौं । इजरायली सेनाले आफ्नो कब्जामा रहेको ’वेस्ट ब्यांक’ को रमल्लास्थित अल जजिरा टेलिभिजन च्यानलको कार्यालयमा आइतबार छापा मारेको छ । हतियारसहित छापा मार्न गएको इजरायली सेनाले सो कार्यालय ४५ दिन बन्द गर्नसमेत आदेश दिएको छ ।

आतंकवादलाई समर्थन गरेको र बढावा दिएको आरोप लगाउँदै छापा मारिएको इजरायली सेनाले जनाएको छ ।
टेलिभिजनका वेस्ट ब्यांक ब्युरो चिफ वालिद अल–ओमारीलाई इजरायली सेनाले सो आदेश हस्तान्तरण गरेको हो । यद्यपि, इजरायली सेनाले बन्द गर्नुको कारण भने दिएको छैन ।

अल जजिरा टेलिभिजनलाई केही समयअघि नै इजरायलमा रिपोर्टिङ गर्न इजरायलले प्रतिबन्ध लगाएको थियो । त्यसलगत्तै वेस्ट ब्यांकस्थित कार्यालय बन्द गर्न इजरायली सेनाले आदेश दिएको हो ।

गत मे महिनामा पनि इजरायली सेनाले नजरथ र पूर्वी जेरुसेलमको अल जजिराको कार्यालयमा छापा मारेको थियो । त्यसबेला पनि अल जजिराको प्रत्यक्ष प्रसारणमाथि रोक लगाएको थियो । त्यसबेला ४५ दिनका लागि रोक लगाएको भनिएपनि इजरायलमा अल जजिराका पत्रकारलाई अहिले पनि रिपोर्टिङ गर्न दिइएको छैंन ।

गत अप्रिलमा इजरायलको संसदले एउटा कानुन पास गरेको थियो, जसमा राष्ट्रिय सुरक्षाका लागि खतरा मानिएको विदेशी च्यानलको प्रसारण अस्थायी रुपमा बन्द गर्न सक्ने अधिकार सरकारलाई दिइएको थियो ।

गत वर्षको अक्टोबरदेखि चलिरहेको इजरायल–हमास युद्धमा पत्रकारहरूलाई निशाना बनाउने काम भइरहेको छ । इजरायली सुरक्षा फौजको कारबाहीमा अहिलेसम्म १७३ जना पत्रकारको मृत्यु भइसकेको छ । अल जजिराका इस्माइल अल घौल र समिर अबुदाका पनि इजरायली सेनाको कारबाहीमा मारिएका छन् ।

प्रकाशित मिति:September 22, 2024