राप्रपाले रणनीतिक रुपमा आन्दोलन केन्द्रीत प्रशिक्षण संचालन गर्ने

  Sampatti News 2024

September 22, 2024

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रणनीतिक रुपमा आन्दोलनकेन्द्रीत प्रशिक्षण संचालन गर्ने भएको छ ।

आन्दोलनकेन्द्रीत प्रशिक्षक प्रशिक्षण असोज ८ गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न गरिनेछ ।

महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्सेर राणाको नेतृत्वमा राप्रपाले रणनीतिक रुपमा आन्दोलनको तयारी जारी राखेको छ ।

काठमाडौंकेन्द्रीत आन्दोलनका लागि देशभरका वडाबाट बीस हजार युवा दस्ता तयार गर्ने क्रममा राजनीतिक, परिचालन र व्यवस्थापनका विषयमा राप्रपाले विशेष प्रशिक्षण आयोजना गर्न लागेको हो ।

‘देशमा चौतर्फी संकट र समस्या छ । देशको बीस प्रतिशत जनसंख्या देशबाहिर छ, दैनिक रुपमा २६०० नेपाली देशबाहिर जान्छन् । यस्तो कहालीलाग्दो अवस्थामा समाधानका लागि राप्रपाले नवीन समझदारीको प्रस्तावना अघि सारेको हो । पार्टीको घोषित नीतिअनुरुप आन्दोलन जारी राखेको हो, यसै सिल्सिलामा आन्दोलनकेन्द्रीत प्रशिक्षण आयोजना गरिएको हो,’ राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले भने ।

प्रशिक्षणमा सहभागी प्रशिक्षकहरुले देशका ७७ जिल्लामा गएर युवाहरुका लागि प्रशिक्षण संचालन गर्नेछन् । पार्टी स्रोत अनुसार, जिल्लास्तरीय प्रशिक्षण तिहार अगावै सम्पन्न गरिनेछ ।

केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समितिको निर्णयबमोजिम आन्दोलन निरन्तर राख्दै देशभरीका ६,७४३ वडाबाट कम्तिमा तीन जना जुझारु यूवा तयार गर्ने रणनीतिमा राप्रपा अघि बढेको हो ।

राजसंस्था, सनातन हिन्दू अधिराज्य, प्रदेशी खारेजी, भ्रष्टाचारको अन्त्य लगायत ४० बुँदे माग तथा नवीन समझदारीको प्रस्तावनासहित राप्रपाले सडक संघर्ष जारी राखेको छ ।

देशभरीबाट चुनिएका युवाहरु सहभागी गराएर काठमाडौंकेन्द्रीत आन्दोलनका लागि राप्रपा युवा दस्ता खडा गर्ने क्रममा छ । जिल्ला खटिने प्रशिक्षकको टोलीमा राजनीतिक र भूपु सुरक्षाकर्मी प्रशिक्षकहरु सहभागी हुनेछन् ।

प्रकाशित मिति:September 22, 2024