१२ वटा उपसमूहको परिसूचक बढेसँगै, नेप्सेमा ४९.१८ अंकको सुधार,

  Sampatti News 2024

September 25, 2024

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार दुई कारोबार दिनमा करिब १२० अंक घटेर बुधबार ४९.१८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ ।

आज नेप्से परिसूचक १.९९ प्रतिशतले बढेर २५१९.५७ विन्दुमा बन्द भएको छ । तर, कारोबार रकममा भने कमी आएको छ । नेप्सेका अनुसार चार अर्ब ८१ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार पाँच अर्ब ६८ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन २२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ । सेयर मूल्य स्थिर हुनेमा नेरूडे मिर्मरे लघुवित्त, सर्वाेत्तम सिमेन्ट र सिक्लेस हाइड्रोपावर कम्पनी छन् ।

आज पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन नेपाल लघुवित्त, ङादी हाइड्रोपावर लिमिटेड, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत कम्पनी र थ्रीस्टार हाइड्रोपावर कम्पनी रहेका छन् ।  

हिमालयन हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ६.३६ प्रतिशतले घटेको छ । ङादी ग्रुप पावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १५ करोड ६४ हजार बराबरको कारोबार भएको छ । 

कारोबारमा आएका १३ समूहमध्ये म्युचुअफ फन्डको परिसूचक ०.०१ प्रतिशतले घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ३.८० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति:September 25, 2024