सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डे सिफारिस

  Sampatti News

September 28, 2024

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा दुई जना सिफारिस भएका छन्।

शुक्रबार बसेको न्यायपरिषद बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुलसीपुका मुख्य न्यायाधीश नित्यतानन्द पाण्डेलाई सर्वोच्च अदालतका लागि सिफारिस गरेको हो। अब संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि उनीहरू सर्वोच्चको न्यायाधीशमा नियुक्त हुन्छन्।

सर्वोच्चमा अहिले चार न्यायाधीश पद रिक्त छ। केहीदिनमै प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अवकास लिएपछि ५ न्यायाधीश पद खाली हुन्छन्। तर परिषदले भने २ जनालाई मात्रै सिफारिस गरेको छ। 

नेपालबारको दबाबका कारण अरू पदमा नियुक्ति सिफारिस गर्न नसकिएको परिषदका एक सदस्यले बताए। 

अहिले नेपाल बार एशोसिएसनले मुख्य रजिष्ट्रारलाई उच्च अदालतमा नियुक्त गरेर ल्याउँदा दिइने बरियता सम्बन्धी नियमलाई लिएर विरोधमा गरिरहेको छ। मुख्य रजिष्ट्रारलाई मुख्य न्यायाधीशपछिको रोलक्रममा पार्ने गरि यसअघि परिषदले नियमावली बनाएको थियो। उक्त नियमावली संसोधन गरेर मुख्य रजिष्ट्रारलाई अरू न्यायाधीशपछिको रोलक्रम नै तोक्नुपर्ने बारको माग छ।

उक्त माग सम्बोधन गर्न बारले दबाबमूलक कार्यक्रम गरिरहेको छ। आफ्नो माग सम्बोधन नगरि न्यायाधीश नियुक्ति नगर्न समेन बारले चेतावनी दिँदै आएको छ। 
बारले अघि सारेको नियमावली संसोधनको विषयलाई सम्मान गर्न आजबसेको परिषदले बरिष्ठतम न्यायाधीश प्रकाश सिंह राउतलाई जिम्मेवारी दिएको पनि ती सदस्यले जानकारी दिए। 

प्रकाशित मिति:September 28, 2024