October 4, 2024
एजेन्सी । इजरायली सेनाले दक्षिणी लेबनानतर्फ स्थलगत कारबाहीसँगै हवाई आक्रमण जारी राखेको छ । इजरायलको युद्ध विमानले लेबनानको टायर, बिन्ट, जेबिल लगायतका जिल्लाहरुमा बम खसालेको हो ।
यस हमलाको निशाना कसलाई थियो भन्ने अहिलेसम्म स्पष्ट नभए पनि यो क्षेत्र हिजबुल्लाहको गढ रहेको छ । यसअघि इजरायली सेनाले मानिसहरूलाई यस क्षेत्रका दुईवटा भवनबाट बाहिर निस्कन आग्रह गरेको थियो ।
यसैबीच, लेबनानी सेनाले दक्षिणी लेबनानमा आफ्ना दुई सैनिक मारिएको जनाएको छ । इजरायलले यस क्षेत्रमा हिजबुल्लाह विरुद्ध जमीनी कारबाही गरिरहेको छ । इजरायली सेनाले पनि दक्षिणी लेबनानका धेरै गाउँहरू खाली गर्न सर्वसाधारणहरूलाई आदेश दिएको छ ।
इजरायलले पनि वेस्ट बैंकमा हमासविरुद्ध सैन्य कारबाही गरेको छ। वेस्ट बैंकका प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको बताएका छन्।
अधिकारीहरुका अनुसार इजरायलले तुलकर्म शरणार्थी शिविरमा हवाई हमला गरेको छ । इजरायलले यस हमलामा हमासका वरिष्ठ सदस्य जाही यासर अब्द अल रजाक मारिएको बताएको छ ।
यसैबीच हिजबुल्लाहले इजरायलमा बिहीबार २३० भन्दा बढी प्रोजेक्टाइल मिसाइल हमला गरेको छ । इजरायलले यो जानकारी दिदै साबि आक्रमणलाई ध्वस्त बनाएको र कुनै मानवीय क्षति नभएको बताएको छ । त्यस्तै हिजबुल्लाहले भने बिहीबार ३२ आक्रमण मात्र गरेको दाबी गरेको छ ।
प्रकाशित मिति:October 4, 2024