धितोपत्र बोर्डकाे अध्यक्षका लागि अन्तरवार्ता स्थगित

  Sampatti News 2024

October 4, 2024

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्व निर्धारित अन्तरवार्ता स्थगित भएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उनी अस्वस्थ्य भएकाले अर्को सूचना प्रकाशिन नहुँदासम्म स्थगित गरिएको सिफारिस समितिले जनाएको छ ।यसअघि जानाजान अनुपस्थित भएका तीन जना उम्मेदवारहरू बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जिवि चापागाईं तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई आज अर्थमन्त्रालयले अन्तर्वार्ताका लागि बोलाएको थियो । तर, शुक्रबार बिहान ८ बजे बोलाइएको उक्त अन्तर्वार्तामा तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन ।

२० पुसमा तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड अहिले अध्यक्षविहीन छ । समितिले कम्तीमा तीनजनाको नाम सिफारिस गर्नुपर्ने र त्यसमध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रावधान ऐनमा छ ।

यसअघि सर्टलिस्टमा परेका तीन जना उम्मेदवार अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतिमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन । यसअघि सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि उपस्थित भएका थिए । तर श्रेष्ठलाई अध्यक्ष बनाउने सेटिङ भएको भन्दै तीन उम्मेदवार अनुपस्थित भएका थिए ।

गत असार तेस्रो साता मन्त्रिपरिषद्‌ बैठकले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया फेरि सुरु गरेको थियो । पुरानो प्रक्रिया रद्द भएपछि सरकारले विवादीत धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति नयाँ समिति गठन गरेर पुरानै सदस्य भएको नयाँ समिति गठन गरेको छ ।  

योजना आयोगमा उपाध्यक्षले नै यो विषय हेरिरहेकाले सोही व्यवस्थाअनुसार शिवकुमार अधिकारीको संयोजकत्वमा समिति गठन भएको हो । तर शुक्रबार अधिकारी अस्वस्थ भएका कारण अन्तर्वार्ता र प्रस्तुतिकरण रोकिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति तीन सदस्यीय सिफारिस समितिमा संयोजक डा श्रेष्ठ, सदस्यमा व्यवस्थापनका प्राध्यापक उदय निरौला र अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी पदेन सदस्य छन् । 

अन्तर्वार्तापछि पाँच जनामध्ये तीन जनाको नाम समितिले मन्त्रिपरिषद्‌मा सिफारिस गर्नेछ । मन्त्रिपरिषद्‌ले आगामी सोमबारको बैठकबाट अध्यक्ष नियुक्ति गर्ने तयारी गरे पनि अन्तर्वार्ता नै रोकिएपछि पुन: बोर्ड अध्यक्ष नियुक्ति पछाडि धकेलिएको छ ।

प्रकाशित मिति:October 4, 2024