गृह मन्त्रालयले गर्‍यो प्रहरी निरीक्षक शाहीलाई निलम्बन

  Sampatti News

October 5, 2024

काठमाडौं । गृह मन्त्रालयले प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई निलम्बन गरेको छ। शुक्रबार गृह मन्त्रालयको पत्रका आधारमा निलम्बन भइसकेको र अब प्रहरी प्रधान कार्यालयले विशेष समिति गठन गरी शाहीमाथि छानबिन हुने प्रहरी प्रवक्ता दानबहादुर कार्कीले नेपालखबरलाई जानकारी दिए।

शाहीमाथि प्रहरी प्रभाग ललितपुर भैंसेपाटी प्रमुखको रूपमा कार्यरत रहँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’ गर्ने गिरोहसँग मिलेर ३० लाख रुपैयाँ असुली गरेको आरोप लागेको छ।

उक्त आरोपपछि प्रहरी निरीक्षक शाहीलाई भैंसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाएर रानीपोखरी तानिएको थियो। सो घटनामा उनको संलग्नता रहेको आशंकामा ललितपुर प्रहरीले छानबिन अघि बढाएको थियो। ललितपुर प्रहरी परिसरमा कार्यरत डीएसपी नरहरी अधिकारको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो।

समितिको प्रारम्भिक अनुसन्धानबाट शाहीको भूमिका शंकास्पद देखिएपछि उनलाई निलम्बनका लागि सिफारिस गरिएको थियो। गृह मन्त्रालयले सो सिफारिसलाई आधार मानेर निलम्बनको निर्णय गरेको हो। निलम्बनपछि अब शाहीमाथि विस्तृत छानबिन हुने बताइएको छ। छानबिन समितिको अन्तिम प्रतिवेदनपछि मात्र उनको भविष्यबारे थप निर्णय गरिनेछ।

प्रकाशित मिति:October 5, 2024