बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय ४४ पुग्यो

  Sampatti News 2024

October 6, 2024

काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ । जना घाइते भएका छन् ।

१९ जना बेपत्ता हुँदा अन्य एक सय ७९ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

उनका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ।  सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।

‘बाढीपहिरो पीडितको विवरण संकलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ’, उनले भने ।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन् ।

बाढीपहिरोमा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छ ।  त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले जानकारी दिए ।

प्रकाशित मिति:October 6, 2024