October 6, 2024
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा प्रदान गर्न निर्देशन दिएको छ । केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा प्रदान गर्न ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिमा शिक्षकलाई मासिक रूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाइने उल्लेख छ । विद्यालयले त्रैमासिकको पहिलो महिनामा तीन महिनाका लागि नियमानुसार आवश्यक तलब भत्ता स्थानीय तहमा माग गर्ने र सोका आधारमा स्थानीय तहले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रूपमा तलब भत्ता भुक्तानी गर्नुपर्ने कार्यविधिमा भनिएको छ ।
तर उक्त कार्यविधि अनुसार शिक्षकले मासिक रूपमा तलब पाउन नसकेको गुनासो आएपछि केन्द्रले लिखित रूपमै निर्देशन दिएको हो । सरकारको आव २०८१/८२ को नीति तथा कार्यक्रममा शिक्षकको तलब मासिक रूपमा दिने उल्लेख छ ।
त्यसपछिका विभिन्न औपचारिक तथा अनौपचारिक स्थलमा तत्कालीन शिक्षा मन्त्रीहरूले पनि पटक पटक स्थानीय तहलाई मासिक तलब प्रदान गर्न निर्देशन दिएका थिए ।
प्रकाशित मिति:October 6, 2024