नेप्से दोहोरो अंकले बृद्धि, ६ अर्ब बढीको कारोवार

  Sampatti News 2024

October 7, 2024

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३७.१३ अंकले बढेर दुई हजार ६ सय ९० दशमलव ७२ विन्दुमा बन्द भएको हो ।                                          

कारोबार भइरहँदा पटक पटक नेप्से २७०० माथि पुगे पनि अन्तिममा अडिन सकेन । बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन हिजो ६ अर्ब १३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ९ करोडको भएको छ । १७६ कम्पनीको मूल्य बढ्दा ६६ को घट्यो भने २ को स्थिर रह्यो ।

अघिल्लो दिनसम्म उच्च वृद्धि देखिएको फाइनान्स सेक्टर यस दिन ०.७१ प्रतिशत घट्यो । त्यस्तै उत्पादन समूह पनि १.२९ प्रतिशत घट्यो । यी दुईबाहेक सबै सेक्टर बढे । आज बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, हाईड्रोपावर, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूह बढे । इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो ।

त्यस्तै विन नेपाल लघुवित्तको ६.१, जनउत्थान सामुदायिक लघुवित्तको ४, पोखरा फाइनान्सको ३.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा चन्द्रागिरि हिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र गुडविल फाइनान्स क्रमशः अगाडि रहेका छन् ।

प्रकाशित मिति:October 7, 2024