काठमाडौँ । नेकपा एमालेले पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गरिरहेको प्रदर्शन गैरकानुनी र दण्डनीय भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमालेले विज्ञप्ति सार्वजनिक गर्दै सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढिरहँदा रास्वपाले गरिरहेको प्रदर्शन गैरकानुनी भन्दै त्यसप्रति आपत्ति जनाएको हो।
महासचिव शंकर पोखरेलले बिहीबार प्रेस वक्तव्य जारी गर्दै छानबिनको प्रक्रियालाई प्रभावित पार्नेगरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण सिर्जना गर्ने काम हुनु दु:खद भएको बताएका छन्।
संसदीय विशेष समितिले बनाएको प्रतिवेदनको आधारमा किटान गरिएका व्यक्तिहरूलाई अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रिया अघि बढेको र त्यसमा सहयोग गर्नु सबैको साझा कर्तव्य रहेको एमालेले बताएको छ। ‘फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र प्रतिरक्षालाई स्वतन्त्र भयरहित र वैज्ञानिक बनाई फौजदारी न्याय प्रणालीको प्रभावकारिता बढाउनु सबैको साझा दायित्व हो,’ विज्ञप्तिमा भनिएको छ।
सहकारी ठगी प्रकरणमै सभापति पक्राउ परेपछि रास्वपाका नेता कार्यकर्ताहरू लगातार विरोध प्रर्दशनमा उत्रिएका छन्। रविको पक्राउबारे सरकार र नेतृत्वलाई जोडेर चर्चा गर्नु अनुपयुक्त भएको पनि एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पक्राउ परेलगत्तै पोखरा पुर्याइएका सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिएको छ।
रास्वपाका नेता कायकर्ता भने पोखराको सडकमा धर्ना बसिरहेका छन्।
