सेयर बजारमा दोहोरो अंकको गिरावट संगै कारोबार रकम पनि घट्यो

  Sampatti News 2024

October 24, 2024

काठमाडौं । सेयर बजारको गिरावटले निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक नेप्से १८.२५ अंक घटेर २६२७ मा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।

अघिल्लो दिन ६ अर्ब २७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडमा खुम्चियो । यस दिन ६७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ७ को स्थिर रह्यो ।

यस दिन एसबिआई बैंकको शेयरमूल्य सर्वाधिक ९.७५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने सनराइज ब्लुचिप फण्डको इकाईमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन रावा इनर्जी डेभलपमेन्टको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८८ रुपैयाँ ८० पैसा घटेर ७९९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ३४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन साहस उर्जा र आईसीएफसी फाइनान्सको करिब २५ करोडको शेयर खरिदबिक्री भएको छ भने पिपुल्स हाइड्रोपावरको साढे २४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक ०.३६ प्रतिशत बढेको हो। कारोबारमा आएका बैंकिङ्ग, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेका छन् भने बाँकी उपसमूहहरुको गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ।

प्रकाशित मिति:October 24, 2024