दार्चुला जीप दुर्घटनाका घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत धनगढी ल्याइयो

Nepal Cover
३० कार्तिक २०८१, शुक्रबार
image

दार्चुला, दार्चुलाको जीप दुर्घटनाका गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी लगिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते जीप चालक सुनिल जोशी, जिपमा सवार उत्तम रोकाया र सन्दीप रावललाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत धनगढी पठाइएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जानकारी दिएका छटन् ।

यसैगरी, घाइते दुई जनाको अवस्था भने सामान्य रहेको र उनिहरुको गोकुलेश्वर अस्पतालमै उपचार भइरहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले बताएका छन् ।

चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका सुनिल जोशीको टाउँकोमा गम्भीर चोट रहेको छ ।

२२ वर्षीय प्रकाश रावल, डिलाशैनी–५ का उत्तम रोकाया, शैल्यशिखर–५ लेकगाउँका सन्दिप रावल र भारतका रोहिन शाह घाइते भएका छन् ।

दुर्घटनास्थलबाट घाइतेहरुलाई उद्धार गरी गोकुलेश्वर अस्पताल लगिएको थियो । यसैगरी, दार्चुलामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

मालिकार्जुन गाउँपालिका–३ मडमा लागेको मालिकार्जुन मन्दिरको जात्राबाट फर्किने दर्शनार्थी बोकेको म १ ज ३३८ नम्बरको जीप शुक्रबार बिहान ४ बजे शैल्यशिखर नगरपालिका–६ ग्वानीमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक ९डिएसपी० प्रकाश दाहालका अनुसार जीप दुर्घटनामा परी शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलीप बिष्ट र ४० वर्षीया मीना लेखक, शैल्यशिखरकै वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका–५ का ५० वर्षीय वीरेन्द्र बोहरा, सोही ठाउँका १६ वर्षीय सुजीव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिल गरी आठ जना छन् ।

पाँच जनाको घटनास्थलमै र बाँकी तीन जनाको उद्धार गरेपछि उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

मालिकार्जुन मन्दिरको जात्रा हेरेर फर्किदै गर्दा घर नपुग्दै आठ जना जीप दुर्घटनामा परी मृत्यु भएपछि दार्चुलावासी स्तब्ध भएका छन् ।

जात्रामा २५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको भएपनि ट्राफिक नियमको पालना नभएको भन्दै आलोचना भइरहेको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।