अमेरिकी भिषाको पछि नलाग्न डा. संग्रौलाको नेपाली विद्यार्थीलाई आग्रह

Nepal Cover
७ मंसिर २०८१, शुक्रबार
image

काठमाण्डू, अन्तराष्ट्रिय कानूनका ज्ञाता प्रा.डा. युवराज संग्रौलाले चीनसहित दक्षिण एसियाली देशका युवा तथा विद्यार्थीहरुलाई अमेरिकी भिषाको पछि नलाग्न आग्रह गरेका छन ।

काठमाडौँ स्कुल अफ ल र रसियन हाउसले संयुक्त रुपमा आयोजना गरेको “अन्तराष्ट्रिय सम्बन्ध र कानूनमा बहुध्रुवियता” विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन ।

सो क्रममा उनले युवा तथा विद्यार्थीहरुबाट आफ्नो देश र दक्षिण क्षेत्रकै सबलताका लागि लागिपर्ने प्रतिबद्धता समेत लिएका थिए ।

भारत र चीनमा गाँजरको ठूलो माग रहेको र नेपालमा यसको उत्पादनको सम्भावना रहेको उदाहरण दिँदै उनले परस्पर सहयोग र बजार सम्भावनाले यो क्षेत्रलाई जुरुक्कै उठाउन सकिने बताए ।

“गाँजर उत्पादनमा लाग, अमेरिकी सपना त्यागिदेउ” नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै उनले भने ।

अन्तराष्ट्रिय सम्बन्धका जानकार रचित मुरारकाले अबको समय दक्षिणको भएको बताए । पश्चिमा शक्ति आँफैमा चुनौतिपूर्ण अवस्थाबाट गुज्रिरहेको उनको दावी थियो ।

ब्रिक्स विज्ञ परिषदका प्रमुख पवन कुमारले ब्रिक्स राष्ट्र तथा दक्षिणका लागि लागानीको राम्रो बातावरण बनिरहेको उल्लेख गरे ।

विद्यार्थी र जानकारहरुबीच यसबारे लामै सवाल जवाफ र छलफल समेत भएको थियो । बहस बहुध्रुवीय विश्वको पक्षमा केन्द्रित थियो ।

वक्ताहरुले पश्चिमा शक्तिलाई चुनौति दिँदै दक्षिणको हितलाई प्राथमिकता दिने कार्यमा ब्रिक्सले अगुवाई गर्ने बताएका थिए ।

अन्तक्रिया कार्यक्रममा चीन, भारत, नेपाल, बंगलादेश लगायतका प्राध्यापक तथा युवा विद्यार्थीहरुको सहभागिता थियो ।।