गुल्मीबाट मात्रै अख्तियारमा ६० उजुरी दर्ता

  Sampatti News 2024

November 24, 2024

गुल्मी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयमा चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म जिल्लाका ६० उजुरी दर्ता भएका छन् ।

 उजुरीमध्ये ३५ वटा फर्छ्यौट भएको र बाँकी २५ उजुरी छानबिनकै क्रममा रहेको छ । आयोगले जिल्लास्तरमा अन्तरक्रिया सरोकारवाला निकायबीच अन्तरक्रिया गरेको छ । अख्तियारले गुल्मीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया गरेको हो । 

पछिल्लो समयमा स्थानीय तहमा उजुरीको सङ्ख्या बढ्दै जान थालेसँगै स्थानीय तह र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीचको दूरी कम गर्ने उद्देश्यले गुल्मीमा जिल्लास्तरीय रूपमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा दुई नगरसहित १२ स्थानीय तहका प्रमुख तथा अध्यक्ष, उपप्रमुख तथा उपाध्यक्षसहित प्रमुख प्रशासकीय अधिकृतलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रमेशकुमार केसीले अख्तियारले गर्ने कार्य र क्षेत्राधिकारका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजेन्द्रकुमार पौडेलले गुल्मी जिल्लासहित कार्यक्षेत्रभित्र रहेका आठ जिल्लाका बारेमा जानकारी गराएका थिए । 

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित भई आयोगमा पर्ने उजुरीका विषयवस्तु एवं स्थानीय तहलाई आयोगका सुझावका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपचारात्मक, निरोधात्मक र प्रवर्द्धननात्मक गरी मुख्य रुपमा तीन किसिमका रणनीतिक उपायमार्फत भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्य गर्दै आएको छ । 

प्रकाशित मिति:November 24, 2024