उपनिर्वाचनका दिन अनुमति बिना सवारी चलाए २५ हजार जरिवाना

Nepal Cover
९ मंसिर २०८१, आईतवार
image

काडमाण्डू, १६ मंसिरमा हुने उपनिर्वाचनका क्रममा निर्वाचन कानूनविपरीतका कार्यमा सवारीसाधन प्रयोग नगर्न वा नगराउन आयोगले सचेत गराएको छ ।

मतदानको दिन अनुमतिबिनाका सवारी साधन सञ्चालन गरेको पाइएमा २५ हजार रुपैयाँ जरिवाना हुने निर्वाचन आयोगले जनाएको हो ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २५ ९१० मा निर्वाचन प्रचारको सिलसिलामा राजनीतिक दल तथा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको संख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएको बाहेक अन्य सवारी साधन प्रयोग गर्न वा गराउन हुँदैन भन्ने प्रावधान रहेको पनि आयोगले स्मरण गराएको छ ।

‘यसविपरीतको कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने र जरिवाना गर्ने अधिकारीले त्यसरी प्रयोग भएको सवारी साधन निर्वाचन अवधिभरको लागि कब्जामा लिन सक्ने कानूनी व्यवस्था भएको’ आयोगले आइतबार विज्ञप्तिमार्फत सूचित गराएको छ ।

आयोगले सवारी साधनमा लाउडस्पिकर समेत प्रयोग गरी निर्वाचन प्रचारप्रसारका कार्य भइरहेको भन्ने सूचना आएको भन्दै यस्ता सवारी साधन कब्जामा लिई आवश्यक कानूनी कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको पनि प्रस्ट पारेको छ ।