September 23, 2020
काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाका २४३ वटै युनिटहरुमा मानवअधिकार सम्बन्धी प्रशिक्षण दिने भएको छ । प्रहरीबाट कुटपिट र यातनाका घटनाहरु सार्वजनिक भइरहेका बेला रानीपोखरीले प्रशिक्षण दिने भएको हो ।
एसएसपी सुशील कुमार यादव र किरण बज्राचार्य नेतृत्वको टोलीले प्रशिक्षण दिने छ । जनताको हक अधिकारलाई सम्मान गर्दै व्यवसायिक जिम्मेवारी कसरी पूरा गर्ने भनेर जवानदेखि अधिकृतसम्मलाई प्रशिक्षण दिइने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले बताए ।
कोरोना संक्रमणको जोखिमका बाबजुद पनि ड्युटी पूरा गर्नुपर्दा कर्मचारीमा व्यक्तिगत, पारिवारिक र मनोगत समस्या देखिएकाले पनि प्रशिक्षण दिन लागिएको डीआईजी पोखरेलले बताए ।
कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै सडक प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीहरुले निर्मम ढंगले कुटपिट गरेपछि नेपाल प्रहरीको आलोचना हुँदै आएको छ ।
हालै कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा निरन्तरता दिन माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले बबरमहलमा रगताम्य हुने गरी कुटपिट गरेको थियो ।
साथै संविधान दिवसको सन्दर्भमा मिडियालाई प्रतिक्रिया दिइरहेका एक व्यक्तिमाथि नयाँबानेश्वरमा प्रहरी जाइलागेको थियो । त्यतिमात्रै होइन, रौतहटमा
हिरासतभित्रै मृत्यु भएका घटनाबाट पनि प्रहरी आलोचित बनेको छ ।
प्रकाशित मिति:September 23, 2020
November 22, 2024