December 2, 2024
काठमाण्डू, सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तात्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई चितवन लगिएको छ ।
लामिछानेलाई बुद्ध एयरको पहिलो उडानमार्फत काठमाडौँबाट चितवन लगिएको हो । कडा सुरक्षा व्यवस्थाकाबीच लामिछानेलाई एयरपोर्टबाट जिल्ला प्रहरी कार्यालय चितवन लगिएको छ ।
चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले प्रहरीले जिल्ला प्रहरी कार्यालयमा बयानका लागि आवश्यक कागजात मिलाएपछि सरकारी वकिल कार्यालयमा लगिने जनाइएका छन् ।
चितवन लामिछानेको निर्वाचन क्षेत्र पनि हो । उनलाई चितवन लगिने भएपछि सुरक्षा चुनौती हुने देखेपछि प्रहरी प्रमुख एसपी मिश्रले कुन उडानमार्फत लामिछानेलाई चितवन ल्याइने भन्ने जानकारी सार्वजनिक गरेका थिएनन् ।
साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र नेचर हव इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो । उनीहरूलाई आइतबार चितवन लगेर सोमवार बयान सकिएको थियो ।
साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन लगिएको हो ।
प्रकाशित मिति:December 2, 2024