चिनसँगको सिमा विवादको बारेमा गृहमन्त्रालयले हुम्ला सप्रजिअलाई सोध्यो स्पष्टीकरण

  Sampatti News

September 25, 2020

काठमाडौँ । गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी(सप्रजिअ) दत्तराज हमाललाई चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने विषयमा स्पष्टीकरण सोधेको छ ।

चिनियाँ पक्षले भवन निर्माण गरेको सूचना सञ्चार माध्यममा दिएको भन्दै बुधवार २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

‘नेपाल–चीन सीमा जस्तो संवेदनशील विषयमा तालुक निकायलाई जानकारी नदिई के कति कारणले सञ्चार माध्यममा अभिव्यक्ति दिनु भएको हो सो सम्बन्धमा २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन आदेश अनुसार अनुरोध छ’ गृहले पठाएको पत्रको ब्यहोरा उल्लेख गर्दै स्रोतले भन्यो ।

दुई साताअघि सहायक प्रजिअ हमाल नेतृत्वको टोली नेपालचीन सिमाना नाम्खा गाउँपालिका–६, लाप्चाक्षेत्रमा पुगेर स्थलगत अध्ययन गरेको थियो । सहायक प्रजिअ हमालले जनप्रतिनिधिहरू र स्थानीय बासिन्दाको भनाइलाई आधारमा चीनले नेपाली भूमिमा भवन बनाएको हुन सक्ने आशयको प्रतिवेदन जिल्लामा पेस गरेका थिए ।

उक्त प्रतिवेदन गृह मन्त्रालयमा पनि पठाइएको थियो । सोही प्रतिवेदनको आधारमा हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहितको टोली सीमा अनुगमन र हराएको भनिएको सिम स्तम्भ खोज्न नाकामा गएको छ ।

हमालले दिएको सूचनाका आधारमा विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन(प्रसारण गरेपछि काठमाडौँमा चीनविरुद्ध प्रदर्शन समेत भएको थियो । यसले गर्दा दुई देशबिचको सम्बन्धमा विवाद ल्याएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको बुझिएको छ ।

असोज ३ गते शनिवार सीमातर्फ गएको अनुगमन टोली अझै सदरमुकाम फर्किएको छैन । तर घटनास्थलको वास्तविकता बाहिर नआउँदै मन्त्रालयले हमाललाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको हो ।

सरकारका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बुधवारको नियमित पत्रकार सम्मेलनमा हुम्लामा चीनले सीमा अतिक्रमण नभएको बताएका थिए ।

प्रकाशित मिति:September 25, 2020