भारतीय सहयोगमा तेह्रथुमको आठराईमा स्वास्थ्य चौकी निर्माण हुँदै, भवनको शिलान्यास

Nepal Cover
२१ मंसिर २०८१, शुक्रबार
image

आठराई, भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङमा निर्माण हुन लागेको स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

उक्त भवन ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत बन्न लागेको नेपालस्थित भारतीय राजदूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ ।

तेह्रथुम की प्रतिनिधिसभा सदस्य सीता गुरुङ, आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिम र भारतीय दूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले शुक्रबार संयुक्त रूपमा उक्त भवनको शिलान्यास गरेका हुन् ।

भारत सरकारको आर्थिक सहयोग ३ करोड ५४ करोड रुपैयाँको लागतमा खाम्लालुङ स्वास्थ्य चौकीको निर्माण गरिने दूतावासले जनाएको छ ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

भारत सरकारको अनुदान सहयोग आकस्मिक वार्ड, प्रसूति वार्ड, जनरल वार्ड, प्रशासन शाखा र अन्य सम्बन्धित सुविधाहरू सहितको दुईतल्ले स्वास्थ्य चौकी भवन निर्माणका लागि उपयोग गरिनेछ ।

यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको हो ।

तेह्रथुम जिल्लामा अघि बढाइएको यो पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । यस परियोजनाको कार्यान्वयन तेह्रथुमको आठराई गाउँपालिकामार्फत गरिनेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ६३ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ ।

यीमध्ये कोशी प्रदेशमा ९१ वटा परियोजना रहेका छन् ।