पश्चिमी वायुको सामान्य प्रभावले तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना

  Sampatti News

December 17, 2024

काठमाण्डू, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले कोशी प्रदेशमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ ।

काठमाडौँमा मंगलबारको तुलनामा आज तापक्रम केही बढी छ । बिहान पौने ६ बजेको तापक्रम ५.१ डिग्री सेल्सियस छ ।

हिजो यही समय काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरो तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति:December 17, 2024