मेडिकल ब्यावसायी दुर्गा प्रसाईंले ऋण तिर्नैपर्ने उच्च अदालतको आदेश, अस्पताल बढ्यो लिलामको खतरामा

Nepal Cover
३ पुष २०८१, बुधबार
image

काठमाण्डू, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकबाट लिएको ऋण तिर्न अब कानूनी बाध्यता आएको छ ।

उच्च अदालत विराटनगरको इलाम इजलासले प्रसाईंको रिट खारेज गर्दै बैंकलाई ऋण असुलीको बाटो खुला गरिदिएको छ ।

कुमारी बैंकको बिर्तामोड शाखासहितबाट लिएको ऋण तिर्न ताकेता भएपछि प्रसाईंका तर्फबाट टीकाराम अधिकारीले निषेधाज्ञाको रिट दायर गरेका थिए ।

तर, न्यायाधीशद्वय विपुल न्यौपाने र काजीबहादुर श्रेष्ठको इजलासले उक्त रिट खारेज गरिदिएको हो ।

अदालतको यो आदेशसँगै बैंकले अब प्रसाईंको पूर्वाञ्चल क्यान्सर अस्पताल समेत लिलाम गर्न सक्नेछ । केही दिनमा आदेशको पूर्णपाठ सार्वजनिक हुने बताइएको छ ।

पछिल्लो समय प्रसाईंले आफूले लिएको ऋण मिनाहा गर्नुपर्ने र नतिर्ने अभिव्यक्ति दिँदै आएका थिए ।

उनको यस्तो अभियानले ग्रामीण क्षेत्रमा काम गर्ने लघुवित्त संस्थाहरूलाई ऋण असुली गर्न कठिनाइ निम्त्याएको थियो ।

अब, अदालतको आदेशपछि प्रसाईंलाई ऋण तिर्नैपर्ने स्थिति आएको छ। यदि उनले तिर्न असफल भए, उनको अस्पताल लिलाम हुन सक्ने खतरा बढेको छ ।